नयाँ वर्ष लक्ष्य प्राप्तिका लागि सङ्कल्प गर्ने दिनः राष्ट्रपति


काठमाडौं, वैशाख १ । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न सङ्कल्प गर्ने दिनका रूपमा रहेको बताएका छन् ।

नयाँ वर्ष २०८३ का अवसरमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्दै उनले लक्ष्य त्यसै प्राप्त नहुने र लक्ष्य प्राप्त गर्न सङ्कल्प र साधना आवश्यक पर्ने धारणा राखेका हुन् । उनले निर्धारित लक्ष्य प्राप्तिका लागि विधि र विधानलाई आत्मसात् गर्नुका साथै सुसंस्कृत व्यवहार तथा आचरण आवश्यक पर्नेमा जोड दिएका छन् ।

राष्ट्रपति पौडेलले मुलुकमा प्रचलनमा रहेका संवत्हरू हाम्रो इतिहास, सभ्यता र जीवनका महत्वपूर्ण हिस्सा भएका उल्लेख गर्दै यसले हाम्रो सभ्यता, सामाजिक जीवन र परम्पराको प्रतिनिधित्व गर्दै नेपालको गौरवमय विगतलाई सम्झाउने र उन्नत भविष्यतिर अगाडि बढ्न प्रेरित गर्ने बताएका छन् ।