कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि


काठमाडौं, वैशाख ३ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै छ । बुधबार सुरु भएको बैठक आज दिउसो १ बजे केन्द्रीय कार्यालयमा पुनः बस्न लागेको हो । आजको बैठकमा कांग्रेसले गठन गरेको कार्की आयोगको प्रतिवेदन अध्ययन कार्यदलले तयार गरेको अध्ययनको निष्कर्षको बारेमा छलफल हुने जनाइएको छ ।

यसअघि बुधवारको बैठकले उपसभापति विश्वप्रकाश शर्मा प्रमुख रहने गरी कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको गठन गरेको थियो । त्यस्तै, उपसभापति पुष्पा भुसाल संयोजक रहने गरी कांग्रेस निर्वाचन ब्युरोको गठन गरेको थियो ।

हिजोको बैठकले महामन्त्री प्रदिप पौडेल संयोजक रहने गरी पार्टी सदस्यता व्यवस्थापन केन्द्रीय समिति गठन गरेको छ भने महामन्त्री गुरुराज घिमिरे संयोजक रहने गरी कांग्रेस सङ्गठन परिचालन तथा समन्वय समिति गठन गरेको थियो । त्यस्तै बैठकले केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको संयोजकत्वमा अन्य राजनीतिक दल संवाद समिति गठन गरेको थियो भने केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठको संयोजकत्वमा कांग्रेसको मर्यादाक्रम निर्धारण समिति गठन गरिएको थियो ।