काठमाडौं, वैशाख ३ । नेपाली कांग्रेसको विशेष महाधिवेशनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा आज सुनुवाइ हुँदैछ । विशेष महाधिवेशनले चयन गरेको कार्यसमिति अवैधानिक भन्दै शेरबहादुर देउवा पक्षले दायर गरेको रिटमा आज न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासमा पेसी तोकेर सुनुवाइ हुँदैछ ।
यसअघि चैत २७ गते कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको इजलासमा परेको थियो । उक्त इजलासले विपक्षीहरू विशेष महाधिवेशनबाट चुनिएका सभापति गगन थापा लगायतलाई पेसीको सूचना दिने आदेश गरेको थियो ।
प्रारम्भिक सुनुवाइको क्रममा माघ ६ गते सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलले तत्कालीन सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा केही प्रश्नको निरूपण हुन जरूरी देखिएको भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।
सर्वोच्च अदालतले निर्वाचन आयोग र अन्य विपक्षीलाई किन देउवापक्षले माग गरे अनुसारको आदेश दिन नपर्ने हो भन्ने प्रश्नको जवाफ लिखितरूपमा १५ दिनभित्र दिन आदेश गरेको थियो। सबै विपक्षीले लिखित जबाफ पेस गरिसकेका छन्।




प्रतिक्रिया