काठमाडौं, ४ वैशाख । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले २०६२ ०६३ सालपछि उच्चपदस्थ राजनीतिक तथा प्रशासनिक पदाधिकारीहरुको सम्पत्ति छानविनका लागि उच्चस्तरीय आयोग गठन गरिसकेको छ । सरकारले २०६२ ०६३ सालपछिका उच्चपदस्थ नेता तथा कर्मचारीहरुको सम्पत्ति छानविन गर्ने भनेको छ । तर, यस विषयमा स्पष्ट कार्यदेश भने बनिसकेको छैन ।
प्रधानमन्त्री शाहनिकट स्रोतले बताएअनुसार उक्त अवधिमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र राज्यका विभिन्न निकायमा काम गरेको उच्चपदस्थ व्यक्तिहरुको सम्पत्ति छानविनको तयारी भइरहेको छ । स्रोतको दाबीअनुसार अब पूर्व राजा ज्ञानेन्द्र शाहदेखि पूर्व राष्ट्रपति रामवरण यादव, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसम्म सम्पत्ति छानविनको दायरामा आउने छन् ।
त्यसैगरी पूर्व प्रधानमन्त्रीहरुमा पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, केपी शर्मा ओली, डा.बाबुराम भट्टराई, झलनाथ खनाल, माधवकुमार नेपाल, खिलराज रेग्मी र सुशीला कार्कीसमेत सम्पत्ति छानविनको दायरामा आउने छन् ।
अझ रोचक त के छ भने सम्पत्ति छानविनका दायरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, वर्तमान सभामुख डोलप्रसाद अर्यालसमेत आउने छन् । लामिछाने यसअघि २ पटक गृहमन्त्री र अर्याल मन्त्री बनिसकेका छन् ।
प्रधानमन्त्री शाहनिकट स्रोतका अनुसार सरकारले गठन गरेको उच्चस्तरीय आयोगले पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व मन्त्री र सरकारी नियुक्ति पाएका विभिन्न संस्थानका एमडीहरुसहित एक हजारभन्दा धेरै व्यक्तिलाई छानविनको दायरामा ल्याउने छ ।
२०६२ देखि २०८२ सम्म ज्ञानेन्द्र शाह (२०६१ माघ १९ देखि २०६३ बैशाख १२ सम्म), गिरिजाप्रसाद कोइराला (२०६३ बैशाख १२ देखि २०६५ भदौ २ सम्म), पुष्पकमल दाहाल प्रचण्ड (२०६५ भदौ २ देखि २०६६ जेठ ११ सम्म), माधवकुमार नेपाल (२०६६ जेठ ११–२०६७ माघ २३) झलनाथ खनाल (२०६७ माघ २३–२०६८ भदौ १२), बाबुराम भट्टराई (२०६८ भदौ १२–२०६९ चैत १), खिलराज रेग्मी (२०६९ चैत १–२०७० माघ २८), सुशील कोइराला (२०७० माघ २८–२०७२ असोज २५), केपी ओली (२०७२ असोज २५–२०७३ साउन २०), प्रचण्ड (२०७३ साउन २०–२०७४ जेठ २४), शेरबहादुर देउवा (२०७४ जेठ २४–२०७४ फागुन ३), केपी ओली (२०७४ फागुन ३–२०७८ असार २९), देउवा (२०७८ असार २९–२०७९ पुस १०), प्रचण्ड (२०७९ पुस १०–२०८१ असार ३०), ओली (२०८१ असार ३०–२०८२ भदौ २४), सुशीला कार्की (२०८२ भदौ २७ –२०८२ चैत १३) को नेतृत्वमा सरकार गठन भएको थियो ।




प्रतिक्रिया