वाम एकताको हल्ला गलत र निराधार हो, यसको सान्दर्भिकता पनि छैनः एमाले नेता तामाङ


काठमाडौं, ६ वैशाख । नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले वाम एकताको हल्ला निराधार र असान्दर्भिक रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार खेम बमसँग संवाद गर्दै उनले वाम एकताको बारेमा केहीँ कतै छलफल नभएको बताएका हुन् ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा ओली विरामी हुँदा भेट्न जाने कुरालाई वाम एकताको रुपमा चर्चा गर्न नहुने उनले बताए । ‘वाम एकताको हल्ला गलत र निराधार हो । यो सान्दर्भिक छैन । अहिले कहीँ छलफल भएको छैन,’ उनले भने ।

नेता तामाङले अहिले सबै दलहरु निर्वाचनपश्चात आत्मसमीक्षामा व्यस्त रहेको र एमालेको हकमा पनि त्यही कार्य जारी रहेको बताए । एमालेको हकमा यो पार्टीलाई कर्नर पार्ने प्रयास भएको र त्यो एक हदसम्म सफल पनि भएको उनले बताए । अब वाम एकता भन्दा पनि आत्मसमीक्षा गरेर अगाडि बढ्नुको विकल्प नरहेको उनले बताए ।

साथै, विष्णु पौडेल र शंकर पोखरेलको मिलोमतोमा ओलीलाई नेतृत्वबाट हटाउने तयारी भइरहेको भन्ने हल्ला केवल भ्रममात्रै रहेको र एमालेमा अहिले त्यस्ता प्रकारका कुनै पनि समानन्तर गतिविधि नरहेको उनले प्रष्ट पारे ।