नेपाल लाइफको रजत जयन्तीमा ‘पुनर्जागरण’ योजना: विलम्ब शुल्कमा १००% सम्म छुट


काठमाडौं,  ७ वैशाख। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५ औँ वार्षिकोत्सवको अवसर पारेर व्यतीत बीमालेखलाई पुनः सक्रिय बनाउने उद्देश्यसहित विशेष ‘पुनर्जागरण’ योजना सार्वजनिक गरेको छ। कम्पनीले आर्थिक रूपमा चुनौतीपूर्ण अवस्थामा रहेका बीमितलाई सहजता दिन विलम्ब शुल्कमा उल्लेखनीय छुट दिने घोषणा गरेको हो।

कम्पनीका अनुसार हालको आर्थिक परिस्थितिका कारण धेरै बीमालेखहरू व्यतीत अवस्थामा पुगेका छन्। यस्तो अवस्थामा बीमितको आर्थिक सुरक्षा कायम राख्न बीमालेख पुनः सक्रिय बनाउनु आवश्यक ठान्दै कम्पनीले विशेष योजना ल्याएको जनाएको छ। यस योजनामार्फत बीमितले आफ्नो बीमालेखलाई पुनः जीवित बनाउन थप प्रोत्साहन पाउनेछन्।

यो योजना मिति २०८३ वैशाख ७ गतेदेखि २०८३ जेठ ५ गतेसम्म लागू हुनेछ। उक्त अवधिमा व्यतीत बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा अधिकतम १०० प्रतिशतसम्म छुट प्रदान गरिनेछ। कम्पनीले यसलाई ‘विशेष बीमा पुनर्जागरण योजना २०८२/०८३’ का रूपमा कार्यान्वयनमा ल्याएको जनाएको छ।

कम्पनीका अनुसार रजत जयन्तीको अवसरमा यस प्रकारको पूर्ण वा उच्च दरको विलम्ब शुल्क छुट योजना पहिलो पटक ल्याइएको हो। सीमित अवधिका लागि ल्याइएको यस अवसरलाई अधिकतम रूपमा उपयोग गर्न बीमितहरूलाई आग्रह गरिएको छ।

बीमालेख व्यतीत भई सुरक्षा कवचबाट बाहिर रहेका बीमितहरूले यस योजनामार्फत पुनः बीमा सेवा सक्रिय गरी भविष्यको जोखिम व्यवस्थापनमा फाइदा लिन सक्ने कम्पनीको विश्वास छ। यस्तो योजनाले बीमा क्षेत्रमा ग्राहक–मैत्री पहलको सन्देश दिने र बीमितसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।