‘लिफ्टिङ’ सिँचाइ योजनाले बद्लियो मटेरा गाउँको मुहार


दाङ, ७ वैशाख । यहाँको तुलसीपुर उपमहानगरपालिका–१४ मटेराकी ५५ वर्षीया माइली चौधरी कृषि पेसामा संलग्न छन् । उनले यसपटक १५ क्वीन्टल तोरी उत्पादन गरी दुई लाख रूपैयाँभन्दा बढी आम्दानी गरे । तोरीबाट मात्र होइन उनले चना, केराउ र मुसुरो खेतीबाट राम्रै आम्दानी गरे ।

उनले त्यही जमिनमा यसअघि खेती गर्दा अहिले जस्तो आम्दानी गर्न सक्नुहुन्थेन । हाल आएर लिफ्टिङ प्रविधिमार्फत सिँचाइ योजना सञ्चालनमा आएपछि उनले खेतीबाटै प्रशस्त आम्दानी लिन सफल भएका हुन्। उनले भने, “पहिले नौ बिघा जमिनमा तोरी चना र केराउ खेती गर्दा उत्पादन कम हुन्थ्यो । तर अहिले त्यही जमिनमा खेती गर्दा पहिलेको तुलनामा १० गुणा बढी उत्पादन हुन्छ ।”

सोही गाउँका ५० वर्षीय पुर्णबहादुर चौधरीले पनि यसवर्ष तोरी खेतीबाट राम्रो उत्पादन लिन सफल भए । उनले यसपटक १६ क्वीन्टल तोरी उत्पादन गरी प्रतिक्वीटल १४ हजार रुपैयाँका दरले घरबाटै बिक्री गरेको बताए ।

पहिले गाउँ नजिकै बबई नदी भए पनि सिँचाइ अभावका कारण मुस्किलले एक सिजनमा मात्र खेती हुन्थ्यो । आम्दानी खासै हुँदैनथ्यो । घरमा खान मात्र पुग्थ्यो । लिफ्ट सिँचाइ योजना सञ्चालन भएपछि पछिल्ला वर्षमा धेरै सजिलो भएको पूर्व वडा सदस्यसमेत रहेका चौधरीले बताए ।

माइली र पूर्णबहादुर दुई उदाहरण मात्रै हुन् । केही वर्षअघिसम्म एक सिजनमा मात्र खेती हुने मटेरिया गाउँका अधिकांश किसानले अहिले बाहै्र महिना खेती लगाउने गरेका छन् । हाल मटेरा गाउँ पकेट तरकारी खेतीका रुपमा परिचित छ । मेटेरा गाउँका १४० घरपरिवारले लिफ्ट सिँचाइ योजनाबाट लाभ लिइरहेका छन् ।

बृहत सिँचाइ योजना दाङको एक करोड ५० लाख रूपैयाँ र गाउँलेको पाँच लाख रूपैयाँ बराबरको श्रमदानमा लिफ्ट सिँचाइ आयोजना निर्माण गरेपछि गाउँको मुहार नै फेरिएको हो । उक्त योजनाअन्तर्गत बबई नदीको पानीलाई करिब ६०० मिटर लम्बाइ रहेको लिफ्टमार्फत तानिएको छ । त्यसरी तानिएको पानीले करिब २०० बिघा जमिनमा सिँचाइ सुविधा पुगेको छ । जसमा १२० थारु समुदाय र २० घर अन्य समुदायले सो पानी सिँचाइका लागि प्रयोग गरेका छन् ।

पानी तान्नको लागि विद्युत् नहुँदा सजिलो होस् भनी सोलर र विद्युत् दुवै प्रविधि जडान गरिएको छ । लुम्बिनी प्रदेश सरकारले मटेरा र सो गाउँसँगै रहेको लुहाडबरा गाउँलाई स्मार्ट कृषि गाउँ घोषणा गरी त्यहाँका किसानलाई तरकारी खेतीसम्बन्धी तालिम, अनुदानमा कृषि औजार, बीउविजनसमेत प्रदान गरेको थियो । रासस