‘बोरिङ लिफ्ट’ खानेपानी आयोजना निर्माण सुरु


पर्वत, ७ वैशाख । पर्वतको मोदी गाँउपालिकामा पहिलोपटक बोरिङमार्फत लिफ्ट खानपानी आयोजना सुरु भएको छ ।

मोदी गाउँपालिकाको आर्थिक सहयोग र गण्डकी प्रदेश सरकारको सहकार्यमा रतीखोला–तिलाहार बोरिङरलिफ्ट खानेपानी आयोजनाको काम आइतबारदेखि सुरु भएको हो । सो आयोजनाको शिलान्यास मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले गरेका थिए ।

लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका मोदी गाउँपालिका–६ तिलहार, थामर्जुङ र दराक क्षेत्रमा सहज रुपमा खानेपानीको पहुँच विस्तार गर्ने उद्देश्यले योजना अघि बढेको हो । बस्तीभन्दा तल रहेको रतीखोला किनारबाट बोरिङमार्फत पानी उत्खनन् गरिने भएको छ ।

उत्खनन् गरिएको पानी करिब एक किलोमिटर माथि डाँडोमा ट्याङ्की निर्माण गरी लिफ्टमार्फत तानेर घरघरमा वितरण गरिने गाउँपालिकाका उपाध्यक्ष लामिछानेले बताए । यो आयोजनाबाट एक हजार घरपरिवारलाई खानेपानीको सुविधा विस्तार गर्ने योजना रहेपनि तत्काल अति समस्यामा परेका दुई सय घरमा विस्तार गरिने जनाइएको छ ।

यो आयोजना मोदी गाउँपालिकाको २५ लाख रुपैयाँ, गण्डकी प्रदेश सरकारको १५ लाख रुपैयाँ र उपभोक्ताका तीन लाख रुपैयाँ बराबरको श्रमदान गरी ४३ लाख रुपैयाँ लागतमा सम्पन्न हुने भएको छ ।

मुख्य ट्याङ्की ३० हजार लिटर र बाँकी दुई वटा शाखा ट्याङ्की एक हजार पाँच सय लिटर क्षमताको बनाइएको छ । आजभन्दा १८ महिना अघि गरिएको सर्वेक्षणमा १२० मिटर गहिराइमा पानी पत्ता लागेको थियो । जसअनुसार गाउँपालिकाले गरेको बोलपत्र आह्वानमा रिमाल बोरिङ लिमिटेडले निर्माणको जिम्मा पाएको छ ।

चालु आर्थिक वर्षभित्रमै सवै घरधुरीमा खानेपानी विस्तार सम्पन्न गरिसक्ने गरी काम सुरु गरिएको मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत बाबुराम पुरीले जानकारी दिए ।

यसअघि जिल्लाको मोदी र फलेवास नगरपालिकाका विभिन्न स्थानमा बोरिङमार्फत पानी उत्खनन् गरी वितरण गरिएको छ । रासस