अमेरिकाले जफत गरेको जहाज रिहाइका लागि दबाब दिन राष्ट्रसङ्घलाई इरानको आग्रह


न्युयोर्क, ९ वैशाख । अमेरिकाले जफत गरेको इरानको व्यापारिक जहाज तत्काल बिना शर्त रिहा गर्न अमेरिकालाई दबाब दिन संयुक्त राष्ट्रसङ्घका लागि इरानका दूत अमिर सइद इरवानीले राष्ट्रसङ्घलाई आग्रह गरेका छन् ।

इरवानीले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र सुरक्षा परिषद्का अध्यक्षलाई पठाएको पत्रमा इरानका व्यापारिक जहाज जफत गरी अमेरिकाले अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरेको उल्लेख गर्दै घटनाबारे चिन्ता व्यक्त गरेका छन् ।

इरवानीले जहाज जफतको घटनाको विस्तृत विवरण दिँदै अमेरिकी सेनाले इरानको तट नजिकै ओमानको सागरमा जहाज कब्जा गरेको पुष्टि गरेका थिए ।

जबरजस्ती जहाज आक्रमणले र धम्कीले जहाजका चालक दल र उनीहरूका परिवारको जिवन खतरामा परेको उनले उल्लेख गरेका छन् ।

कानुनी र सुरक्षा चिन्ता व्यक्त पार्दै उनले यस्तो आचरण समुद्री डकैतीको रुप भएको र यसले ढुवानी मार्गहरूको सुरक्षामा गम्भीर खतरा उत्पन्न हुने बताएका छन्।

इरवानीले जहाज जफत संयुक्त राष्ट्रसङ्घ प्रस्ताव विपरीत हुनुका साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको युद्धविरामको उल्लङ्घन गरी भएको जनाइएको छ ।

यो कार्यले क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति सुरक्षाका लागि गम्भीर खतरा खडा गर्नुका साथै युद्वले नाजुक भएको अवस्थालाई अझै अस्थिर बनाएको उनले उल्लेख गरेका छन् ।

इरवानीले संयुक्त राष्ट्र सङ्घलाई आक्रमण र जहाज जफतको निन्दा गरी अमेरिकालाई जवाफदेही बनाएर जहाज र जहाजमा रहेका सबैलाई विनासर्त रिहा गर्न दबाब दिन आग्रह गरेका छन् । रासस