हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश प्रशासन सेवाअन्तर्गतका १४२ जना वरिष्ठ शाखा अधिकृत तथा शाखा अधिकृतको एकैपटक सरुवा तथा पदस्थापन गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सामान्य प्रशासन समूहका सातौँ तथा आठौँ तहका अधिकृतहरूको सरुवा गर्दै नयाँ कार्यस्थल तोकेको हो ।
कार्यालयको कात्तिक १८ गतेको निर्णयअनुसार प्रदेशका विभिन्न मन्त्रालय तथा मातहतका निकायमा कार्यरत अधिकृतहरूलाई मन्त्रालय, निर्देशनालय, आयोग र अन्य सरकारी कार्यालयमा जिम्मेवारी दिइएको छ ।
सरुवाअन्तर्गत अधिकृतहरूलाई मुख्यतः प्रदेशका प्रशासनिक तथा विकाससँग सम्बन्धित मन्त्रालय र विभिन्न संवैधानिक तथा स्वायत्त निकायमा खटाइएको छ ।
पदस्थापनको क्रममा सबैभन्दा बढी अधिकृतलाई उद्योग, पर्यटन, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतका क्षेत्रहरूमा जिम्मेवारी दिइएको छ । त्यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रशासनिक समन्वय, व्यवस्थापन तथा अनुगमन कार्यलाई प्रभावकारी बनाउन पनि उल्लेख्य सङ्ख्यामा शाखा अधिकृतहरू खटाइएको छ ।
प्रदेश सरकारले एकैपटक ठूलो सङ्ख्यामा गरेको यस सरुवा तथा पदस्थापनले मन्त्रालय र मातहतका निकायहरूको प्रशासनिक जिम्मेवारीमा फेरबदल ल्याएको छ ।




प्रतिक्रिया