डेपुटी गभर्नरको सम्पत्ति : तीन करोडको जग्गा, २० तोला सुन


काठमाडौं, वैशाख १० । सरकारले गत चैत २४ मा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरमा नियुक्त गरेका किरण पण्डितले सम्पत्ति विवरण बुझाएका छन्।राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार डेपुटी गभर्नरले टोखा नगरपालिकामा पत्नी कामना शर्मा पण्डितका नाममा २ करोड २० लाखको जग्गा रहेको उल्लेख गरेका छन्। उक्त सम्पत्तिको स्रोत निजी तथा श्रीमतीको आय र बैंक ऋण रहेको उल्लेख छ।

यस्तै, काठमाडौंकै तारकेश्वरमा श्रीमतीको नाममा ६९ लाख रुपैयाँ बराबरको जग्गा, कैलालीको धनगढीमा आफ्नै नाममा १० लाख रुपैयाँ बराबरको जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ।

बुबा केशरीराज पण्डितको नाममा तनहुँको दमौलीमा ११ रोपनी जग्गा तथा काठमाडौंमा आमाको नाममा ६ आना जग्गा रहेको सम्पत्ति विवरणमा छ। आमाको नाममा काठमाडौंको सामुखुसीमा साढे २ तलाको घर रहेको र उक्त सम्पति पैत्रिक रहेको जनाइएको छ।

पण्डितले आफूसँग २० तोला सुन, २५० तोला चाँदी र २ लाख बराबरको हीरा रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्। यो सम्पत्ति स्रोतका रूपमा निजी आर्जन तथा विवाह तथा पास्नीमा पाएको उल्लेख छ।

पण्डितको राष्ट्र बैंक, कर्मचारी सञ्चय कोष तथा विभिन्न बैंकहरूमा गरी २ करोड रुपैयाँभन्दा बढी बचत छ। यस्तै विभिन्न कम्पनीको ७ सय कित्ताभन्दा बढी सेयर लगानी रहेको सम्पत्ति विवरणमा उल्लेख छ।