अस्तित्व जोगाउने संघर्षमा मधेसवादी दल : एकता, सहकार्य कि पुनः विखण्डन ?


काठमाडौं । मधेस केन्द्रित राजनीतिक शक्तिहरू यतिबेला आफ्नो अस्तित्व जोगाउने निर्णायक मोडमा पुगेका छन्। विगतमा मधेसी अधिकारको मुख्य वाहकका रूपमा स्थापित दलहरू अहिले राजनीतिक प्रभाव गुमाउँदै पुनर्गठन र पुनस्र्थापनाको खोजीमा देखिएका छन्।

मधेसको राजनीतिक इतिहासमा गजेन्द्र नारायण सिंह नेतृत्वको सद्भावना पार्टीले लामो समयसम्म मधेसी अधिकारको मुद्दा उठाउँदै आएको थियो। तर आन्तरिक विवाद र टुटफुटका कारण त्यो प्रभाव क्रमशः कमजोर बन्दै गयो। त्यसपछि २०६२–६३ को जनआन्दोलन र त्यसपछिको मधेस आन्दोलनले मधेसी राजनीतिक चेतनामा नयाँ उछाल ल्यायो।

यही परिवेशमा मधेसी जनाधिकार फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी, जनमत पार्टीलगायतका दलहरू उदाए। २०७९ सालसम्म यी दलहरूले संघीय संसदमा उल्लेखनीय उपस्थिति जनाउँदै राष्ट्रिय राजनीतिमा प्रभाव जमाए। मधेसी नेताहरू राष्ट्रपति, उपराष्ट्रपति, उपप्रधानमन्त्रीदेखि मन्त्रीसम्मका उच्च पदमा पुगे। तर सत्ता र सहभागिताको विस्तार भए पनि जनस्तरमा अपेक्षित अधिकार र उपलब्धि सुनिश्चित हुन नसक्दा असन्तुष्टि विस्तारै बढ्दै गयो।

त्यसैको परिणामस्वरूप मधेसका युवाहरूबीच विद्रोही मनोविज्ञान विकसित भयो। नयाँ पुस्ताको असन्तुष्टिलाई राजनीतिक रूपमा रूपान्तरण गर्दै बालेन्द्र साह जस्ता नयाँ अनुहारप्रति आकर्षण बढ्यो, जसको प्रभाव पछिल्लो निर्वाचनमा स्पष्ट देखियो। परम्परागत मधेसवादी दलहरू निर्वाचनमा लगभग शून्य अवस्थामा पुगे—कतिपयले त जमानत समेत जोगाउन सकेनन्।
पुनः उदाउँदै मुद्दा, तर नेतृत्व संकट यथावत्

यद्यपि मधेसवादी दलहरूको प्रभाव घटे पनि मधेसी अधिकारको मुद्दा भने समाप्त भएको छैन। अहिले फेरि त्यही मुद्दालाई केन्द्रमा राख्दै दलहरू पुनः सक्रिय हुने प्रयासमा छन्। उनीहरूबीच मुख्य द्विविधा भनेको—आफ्नै पहिचानसहित एकता गर्ने कि ठूला राष्ट्रिय दलहरूसँग सहकार्य गरेर अस्तित्व जोगाउने भन्ने हो।

हालैको राष्ट्रिय सभा निर्वाचनमा महन्थ ठाकुर को समर्थनमा देखिएको सहकार्यले एकताको सम्भावना देखाए पनि नेताहरूबीचको व्यक्तिगत अहं (इगो) र नेतृत्व प्रतिस्पर्धा ठूलो बाधा बनेको छ।

यसैबीच केही मधेसवादी शक्तिहरूले नेकपा एमाले लगायतका ठूला दलहरूसँग सहकार्यको विकल्प पनि खोजिरहेका छन्। यसलाई कतिपयले व्यावहारिक रणनीति मानिरहेका छन् भने कतिपयले यसले मधेसी एजेन्डाको स्वतन्त्रता कमजोर पार्ने खतरा औंल्याएका छन्।

बाह्य प्रभाव र भविष्यको दिशा
मधेसको राजनीति सधैंजसो क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोसँग पनि जोडिँदै आएको छ। विश्लेषकहरूका अनुसार भारतको चासो र प्रभाव पनि मधेसवादी दलहरूको पुनर्संरचनामा देखिन सक्ने संकेतहरू छन्, यद्यपि यसबारे औपचारिक पुष्टि भने छैन।

मधेसवादी दलहरू अहिले ‘अस्तित्व बनाउने कि हराउने’ भन्ने दोधारमा छन्। एकातिर विगतको कमजोर प्रदर्शन र जनविश्वासको ह्रास छ भने अर्कोतिर अझै जीवित रहेको मधेसी अधिकारको मुद्दा।
यदि यी दलहरूले आन्तरिक एकता, स्पष्ट एजेन्डा र विश्वसनीय नेतृत्व प्रस्तुत गर्न सके भने पुनः उदय सम्भव देखिन्छ। अन्यथा, उनीहरू ठूला दलहरूको छायाँमा सीमित हुँदै जाने जोखिम पनि उत्तिकै बलियो छ।