तरकारीले पाएन मूल्य


चितवन, १४ वैशाख । जिल्लामा व्यावसायीक रुपमा उत्पादित तरकारीले उचित मूल्य नपाउँदा किसान मर्कामा परेका छन् । यहाँ उत्पादन भएका तरकारीले लागत मूल्य समेत पाउन नसकेपछि यहाँका किसानहरु चिन्तित बनेका हुन् ।

विगत २० वर्षदेखि व्यावसायीक तरकारीखेती गर्दै आएकी भरतपुर महानगरपालिका–२५ बुद्धिचोककी लक्ष्मी रानाभाट अहिले बोडी, काँक्रो, चिचिन्ना, करेलालगायतका तरकारीले उचित मूल्य पाउन नसकेको बताउँछिन् । उनले भनिन्, “अधिकांश तरकारी प्रतिकिलो रु पाँचमा बेच्न बाध्य छौं ।”

बाह्र विगाह क्षेत्रफलमा तरकारी खेती गर्दै आएकी उनी तरकारीले उचित मूल्य नपाउँदा आफूलगायतका किसान मारमा परेको बताउँछिन् । उनका अनुसार अहिले किसानले तरकारी बारीमै छाड्न बाध्य भएका छन् । मजदुरलाई दिने पैसा समेत उठ्न नसकेको उनको भनाइ छ ।

यस्तै गुनासो किसान सुमिना थापाको पनि छ । उनले २ विगाह क्षेत्रफलमा तरकारीखेती गर्दै आएको छ । उनको बारीमा अहिले तने बोडी, काँक्रा चिचिन्डा जस्ता तरकारी लगाउँदै आएको छ । उनले अहिले १० कठ्ठा जग्गामा लगाएको बोडी टिपेर मूल्य नपाए पछि त्यतीकै राखेको छ । उनले भने,“तरकारीले मूल्य पाउन सकेन बिचौलीया मोटाएको देखियो ।” किसान र उपभोक्ताबीचको मूल्यको अन्तर ठूलो भएपछि किसानहरुले तरकारी बिक्री गर्न सकेका छैनन् ।

उनका अनुसार लागत मूल्य समेत नपाउने भएकाले किसानले मजदुर लगाएर तरकारी टिप्न पनि छाडेका छन् । तरकारीले उचित मूल्य नपाएपछि किसान संघर्ष समिति वनाएर प्रदर्शन गर्ने तयारीमा किसानहरु रहेको संघर्ष समितिका संयोजक ईश्वरी न्यौपानेले बताए ।

न्यौपानेले भने “किसानसँग प्रतिकेजी रु ५ देखि १० मा किनेर उपभोक्ताहरुकोमा पुग्दा रु ७० देखि ८० मा बिक्री हुने गरेको छ ।” आफूहरुले बजारमा उपभोक्ता मूल्य समेत बुझेको बताउँदै उनले अब किसानले बजारमा तरकारी नपाउनेसम्मका काम गर्ने तयारीमा रहेको बताए । बिउ, मल, बिषादी, जनशक्ति, सिंचाई, ढुवानीको लागत मूल्य समेत उठ्न नसकेको उनले बताए ।

राज्यले तरकारीको न्यूनतम समर्थन मूल्य तोक्न समेत उनले आग्रह गरे । आयातित तरकारीले बजार पाउँदा यहाँ उत्पादित तरकारीले मूल्य पाउन नसकेको उनको भनाइ छ । यहाँ तरकारी चिस्यान केन्द्र स्थापना गर्न सके उत्पादित तरकारीले मूल्य पाउन सक्ने उनले जानकारी दिए ।

राष्ट्रिय कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाई चितवनका अनुसार अहिले जिल्लामा तरकारी जोनका रुपमा ७७० हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिंदै आइएको छ । जहाँ एक हजार कृषक सहभागी भएका छन् । अहिले बजार मूल्य नपाउँदा किसानहरु चिन्तित बनेको इकाईका प्रमुख महेश रेग्मीले बताए । रासस