काठमाडौं, वैशाख १४ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीले प्रमुख प्रतिपक्षी दलको जिम्मेवारी सशक्त रूपमा बहन गर्ने बताएका छन् । संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएपछि आज दलको कार्यालय सिंहदरबारमा सञ्चारकर्मीसँग उनले सत्तामा रहेकालाई सही काम गर्न सशक्त भूमिका निर्वाह गरिने बताए। संसदीय दलको नेताका हैसियतमा आफूले त्यो भूमिकालाई थप प्रभावकारी बनाउन लाग्ने नेता आङ्देम्बेको भनाइ छ।
एकसट्ठी वर्षीय आङ्देम्बे करिब पाँच दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय रहेका छन्। उनी पञ्चायतविरोधी आन्दोलन, पहिलो र दोस्रो जनआन्दोलनका अग्रपंक्तिका नेता हुन् ।
उनले विसं २०३६ मा पाँचथरको फिदिम माध्यमिक विद्यालयमा अध्ययन गर्दादेखि नेपाल विद्यार्थी सङ्घका माध्यमबाट राजनीतिमा प्रवेश गरे । पाँचथरको साविक उम्लाबुङ घर भएका आङ्देम्बे आफ्ना बाजे पूर्वमन्त्री देउमान आङ्देम्बेको प्रेरणाले राजनीतिमा लागेका हुन्। विसं २०४२ मा कांग्रेस नेताहरू सत्याग्रहमा बसेका थिए। त्यस क्रममा उनी पनि पक्राउ परेर नौ महिना जेल बसेका थिए । त्यसपछि पटकपटक गरी उनी डेढ वर्ष जेल बसेका थिए ।
आङ्देम्बे विसं २०४२ तिरै नेविसङ्घको केन्द्रीय सदस्य भएका थिए । २०४६ सालको जनआन्दोलनमा उनले नेविसङ्घको केन्द्रीय सदस्यका रूपमा पूर्वाञ्चलको कमाण्ड सम्हालेका थिए । विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापना भएपछि उनी २०४९ को स्थानीय निकायको निर्वाचनमा आङ्देम्बेलाई जिल्ला विकास समितिको सभापति बनाउने चर्चा भएको थियो, तर उनले भने नेता भूविक्रम नेम्बाङ वरिष्ठ नेता भएकाले उनलाई छोडेको सुनाए । त्यसबेला उनी जिल्ला विकास समितिको सदस्य रहेका थिए ।
आङ्देम्बे विसं २०५१ मा नेपाल तरुण दलको केन्द्रीय उपाध्यक्ष बनेका थिए। विसं २०५६ मा उहाँ पाँचथर जिल्ला निर्वाचन क्षेत्र–२ बाट संसदीय निर्वाचनमा उम्मेदवार बने पनि पराजित भएका थिए। त्यसपछिका निर्वाचनमा पनि उम्मेदवार भएका आङ्देम्बे विसं २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा जित हासिल गरेका थिए।




प्रतिक्रिया