पूर्णबहादुरलाई भेट्न गल्फुटार पुगे आङदेम्बे


काठमाडौं, वैशाख १५ । नेपाली कांग्रेसका पूर्वकार्यबाहक सभापति पूर्णबहादुर खड्काले संसदीय दलको नेतामा निर्वाचित भीष्मराज आङदेम्बेलाई बधाई तथा शुभकामना दिएका छन् ।

मंगलबार काठमाडौंस्थित निवासमा भेट्न आएका संसदीय दलका नेता आङदेम्बेलाई खड्काले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् । यसपटकको संसदको संरचनामा नेपाली कांग्रेस दोश्रो ठूलो राजनीतिक दलको रुपमा उपस्थित भएकोले संसदको समग्र प्रक्रिया र भूमिका प्रमुखप्रतिपक्ष दलनेताको हैसियतमा ऐतिहासिक र महत्वपूर्ण भूमिका निभाउन नेता खड्काले आग्रह गरे ।

आङदेम्बेलाई संसदीय दलको नेतामा सर्वसम्मत बनाउन पूर्वसभापति शेरबहादुर देउवा, पूर्व कार्यबाहक सभापति खड्का, राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, नेता डा।शेखर कोइराला, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे लगायतको विशेष पहल थियो । अधिकांश नेताहरू आङदेम्बेको पक्षमा खुलेपछि सभापति गगनकुमार थापा बाध्य भएर आङदेम्बेलाई सर्वसम्मत दलको नेता बनाउन सहमत भएका थिए ।

गगनले संसदीय दलको नेतामा अर्जुननरसिंह केसी र मोहन आचार्यलाई चाहेका थिए । सर्वसम्मत बनाउन सकेको भए गगनले ससुरा नाता पर्ने केसी र निर्वाचन भएको भए ठेकेदार पृष्ठभूमिका आचार्यलाई बनाउन चाहेको कांग्रेसकै नेताहरूले बताएका छन् ।