करिब तीन लाख बराबरको सामग्री बरामद


सिरहा । सशस्त्र प्रहरीले सिरहा नगरपालिका-१७ पटेर्वास्थित नेपाल-भारत सीमा क्षेत्रबाट करिब तीन लाख मूल्य बराबरको सामग्री बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नं. ७ गण अन्तर्गत सीमा सुरक्षा गुल्म मुख्यालय माडरबाट खटिएको टोलीले नेपालबाट भारततर्फ र भारतबाट नेपालतर्फ ओसारपसार गर्दै गरेका सामानहरु अवैध भन्दै नियन्त्रणमा लिएको हो ।

सशस्त्रका अनुसार २ लाख ५० हजार बराबरको स. ८ प १२३४ नम्बरको नेपाली मोटरसाइकल, २० हजार बराबरको मदिरा र २५ हजार २८५ रपैयाँ बराबरको विभिन्न पेय पदार्थसहितका सामग्री नियन्त्रणमा लिएको छ ।

बरामद सामानलाई आवश्यक प्रक्रिया पूरा गरी भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी बल सिरहाका एसपी सुमनजंग थापाले जनाएको छ ।