काठमाडौं, वैशाख १६ । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ। अधिवक्ता डा प्रेमराज सिलवालले मंगलबार दायर गरेको रिट निवेदनमा सरकारले गठन गरेको उक्त आयोग असंवैधानिक भएको उल्लेख गर्दै खारेज गर्न माग गरिएको छ। उक्त रिटमा सुनुवाइका लागि बुधबारका लागि पेसी तोकिएको हो।
सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको थियो। उक्त आयोगलाई २०६२ सालयताका उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न कार्यादेश दिइएको छ।
दर्ता भएको रिटमा सम्पत्ति छानबिन आयोग गैर संवैधानिक भएकाले खारेज गर्न माग गरिएको छ। त्यस्तै, आयोग गठनका कारण संवैधानिक अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि ओभरल्यापिङ भएको र दोहोरोपन भएका कारण पनि उस्तै प्रकृतिको आयोग खारेज हुनुपर्ने माग रिटमा गरिएको हो ।
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पत्ति जाँचबुझ छानबिन आयोग तथा त्यसका अध्यक्ष राजेन्द्रकुमार भण्डारीलाई विपक्षी बनाइएको छ । संवैधानिक सर्वोच्चता कायम हुनुपर्नेमा यो आयोग गठन विधिको शासनविपरीत भएको निवेदकको दाबी छ।




प्रतिक्रिया