पोखरा । ‘सडकआश्रित मानवरहित नेपाल’ घोषणाको लक्ष्यमा अघि बढेको मानवसेवा आश्रमले पोखरा महानगरपालिका–२५ हेम्जास्थित आश्रमस्थललाई ‘मानवसेवा शाश्वत धामका रूपमा विकास गर्ने भएको छ । सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार र जीवनरक्षामा सक्रिय आश्रमले मानवसेवाको उत्कृष्ट नुमनाका रूपमा हेम्जाको आश्रमलाई विकास गर्ने भएको हो ।
‘मानवसेवा शाश्वत धामको लक्ष्यअनुसार हेम्जामा पूर्वाधार निर्माणका कामलाई अगाडि बढाइएको मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए । निर्माणाधीन अवस्थामा रहेको मानवसेवा आश्रम भवनको पूर्वतर्फ मुक्तिनाथ सेवा धर्मशाला निर्माण हुने उनको भनाइ छ । मुक्तिनाथलगायत यस क्षेत्रका प्रसिद्ध तीर्थस्थलमा जाने स्वदेशी तथा विदेशी श्रद्धालुहरूलाई लक्षित गरी उक्त धर्मशाला बनाउन लागिएको हो ।
तीर्थयात्रीहरूलाई आवास र भोजनसहितको निःस्वार्थ सेवाका लागि उक्त धर्मशाला निर्माणको योजना ल्याइएको अध्यक्ष अधिकारीले बताए । एक सय महिला र एक सय पुरुषलाई सेवा दिन मिल्ने गरी धर्मशाला बन्ने जनाइएको छ । सोही स्थानमा अहिले क्ष्मीनारायण मन्दिर पनि निर्माण भइरहेको छ ।
निर्माणाधीन अवस्थामा रहेका पूर्वाधार सम्पन्न गर्न, अक्षयकोष वृद्धि र आश्रमस्थललाई शास्वत धामका रूपमा विकास गर्न आश्रमले यही वैशाख १९ गतेदेखि २६ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ आयोजना गरेको छ । उक्त महायज्ञबाट रु १० करोड सहयोग सङ्कलन गर्ने लक्ष्य लिइएको आश्रमले जनाएको छ ।
विसं २०७५ चैतदेखि सुरु भएको हेम्जाको आश्रम भवनको निर्माण अन्तिम चरणमा पुगेको छ । दश करोडको लागतमा उक्त भवन बन्न लागेको हो ।




प्रतिक्रिया