साजनको उपचारमा सारथि बन्ने ऋषि धमलाको बाचा !


चितवन  । आठ वर्षको उमेरमा अचानक बेहोस भएर ढलेपछि साजन चेपाङको जीवनमा कहिल्यै नमेटिने बादल मडारियो । त्यसयता उनको शरीर चल्न छाड्यो । परिवारले आफूसँग भएको थोरै घरखेत बेचेर उनको उपचारमा खर्च गर्यो, तर न रोग निको भयो, न त अहिले ओत लाग्ने आफ्नै बास नै बाँकी छ ।

अहिले साजनको परिवार सुकुम्बासी जस्तै बनेको छ । काठमाडौँ ल्याएर थप उपचार गर्ने धोको त छ, तर खल्ती रित्तो छ । ‘दैनिक खाजा खान त धौधौ पर्छ, अस्पताल कहाँबाट पुर्‍याउनु’, परिवारका सदस्यले दुखेसो पोखे । हाल सरकारले उपलब्ध गराउने अपाङ्गता भत्ताकै भरमा साजनको जेनतेन प्राण धानिएको छ ।

यसैबीच, पीडित साजनको पक्षमा वरिष्ठ पत्रकार ऋषि धमलाले सहयोगको हात अघि बढाएका छन् । धमलाले साजनलाई बाँचुन्जेल प्रतिमहिना १ हजार ५ सय रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन् ।

सहयोगको प्रतिबद्धता जनाउँदै धमलाले भने, ‘साजनको अवस्था निकै मर्माहत छ । उनलाई काठमाडौँ ल्याएर उपचार गराउन म हरसम्भव सहयोग गर्नेछु ।’ साजनको उपचारका लागि मनकारी दाताहरूलाई समेत आर्थिक सहयोग गर्न वरिष्ठ पत्रकार धमलाले अपिल गरेका छन् ।

कष्टकर जीवन बिताइरहेका साजनका लागि धमलाले गर्ने सहयोगले केही आशा जगाएको छ । तर, पूर्ण उपचारका लागि अझै ठूलो रकम र सरकारी पहलको खाँचो देखिएको छ ।