काठमाडौँ । नेपाल शिक्षक महासंघले सरकारसँग विगतमा भएका सहमति अनुसारको विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गरेको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै संघीय संसद्को चालु अधिवेशनबाटै ऐन ल्याउन सरकारको ध्यानाकर्षण गराएको हो ।
विगतका आन्दोलन र वार्तापछि सरकार र महासंघबीच भएका सम्झौताहरू ऐनमा समेटिनुपर्ने महासंघको मुख्य सर्त छ । विशेषगरी स्थायी, अस्थायी, राहत, करार, साविक उच्च माध्यमिक विद्यालय, शिक्षण सिकाइ अनुदान, बालकक्षा र विशेष शिक्षामा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीका समस्यालाई कानुनतः सम्बोधन गरिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
महासंघले शिक्षक र कर्मचारीका वृत्तिविकास र पेसागत सुरक्षाका सवालमा सरकार गम्भीर नभए पुनः आन्दोलनमा उत्रनुपर्ने परिस्थिति आउन सक्ने चेतावनीसमेत दिएको छ ।





प्रतिक्रिया