काठमाडौँ, २३ असोज । “भावीले जे गर्न खोजेको हो, त्यो भएरै छाड्ने रहेछ। के गर्नु, मन थामेर चित्त बुझाउनु परेको छ”, भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका सशस्त्र प्रहरी जवान सन्तोष पुडासैनीका पिता गोविन्दबहादुर पुडासैनीले छोराको सम्झना गर्दै लामो श्वास फेरे।
बाढीपछि सम्पर्कविहीन भएका राष्ट्रसेवकमध्ये एक हुन् नुवाकोटको बेलकोटगढी नगरपालिका–८, अर्चलबोटका सन्तोष पुडासैनी। सशस्त्र प्रहरी बल, नेपालमा भन्सार सीमामा ड्युटीमा खटिएका ३३ वर्षीय पुडासैनीसहित नौ सशस्त्र प्रहरीलाई भदौ १० गते आएको बाढीले बगाएर सम्पर्कविहीन बनाएको थियो।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले राष्ट्रसेवक कर्मचारीका परिवारमा अझै बेचैनी छ। बाढीपछि आफन्त सम्पर्कविहीन भएका परिवारले मृत्युको यथार्थ स्वीकार गरिसके पनि कतिपयले अन्तिम पटक आफ्ना प्रियजनको अनुहार समेत देख्न पाएका छैनन्।
परिवारको आशाको केन्द्र र रोजगारीमा रहेको सदस्य मात्र गुमेको छैन, कसैले श्रीमान्, कसैले श्रीमती, कसैले छोराछोरीका पिता वा माता त कसैले बुबाआमाको सहारा गुमाएका छन्। अझ पीडादायी अवस्था त ती परिवारको छ, जसले आफ्ना आफन्तलाई बाढीले बगाएको देखे पनि शव भेट्न सकेनन्। अन्ततः परम्पराअनुसार कुशको शव बनाएर अन्त्येष्टि गर्नुपर्ने बाध्यता उनीहरूमाथि आइपरेको छ।
प्राकृतिक विपत्तिले घर, सम्पत्ति र संरचना मात्र बगाउँदैन। त्यसले परिवारको भविष्य, सपना र सम्बन्धसँग जोडिएका धेरै कुरा एकै पटक खोसिदिन्छ। भोटेकोशी बाढीबाट प्रभावित राष्ट्रसेवकका परिवारको पीडा त्यसकै एउटा उदाहरण हो।
सशस्त्र प्रहरी सेवामा नौ वर्ष बिताएका सन्तोषले गत मंसिर १९ गते भैरवकोटकी सावित्री खड्कासँग विवाह गरेका थिए। सेवाका कारण महिनामा एक पटक घर आउने सन्तोषको विवाहपछि परिवारमा नयाँ आशा थपिएको थियो। तर, वैवाहिक जीवन सुरु भएको केही महिनामै बाढीले उनलाई परिवारबाट खोस्यो।
उनका अनुसार बुहारी सावित्रीले अहिलेसम्म श्रीमानको वियोगलाई सहज रूपमा स्वीकार गर्न सकेकी छैनन्। खाना समेत राम्ररी खान नसक्ने अवस्थामा रहेकी सावित्रीलाई बेलाबेलामा स्लाइन पानी समेत लगाउनु परेको छ। “म छोरा गुमाउँदाको पीडामा छु। बुहारीको त विवाह गरेकै वर्ष सर्वस्व गयो। विवाह पनि धुमधामसँग गरेका थियौं। घरमा सबै खुसी थिए। बाढीले त्यो खुसी सबै लुट्यो”, उनले भने।
सन्तोष सम्पर्कविहीन भएपछि दक्षिण कोरियामा रहेका उनका भाइ समेत गाउँ फर्किएका छन्। परिवारका सदस्यका लागि अहिले सन्तोषको सम्झना नै सबैभन्दा ठूलो सहारा बनेको छ। एकातिर प्रियजन फर्कने आशा समाप्त जस्तै भएको छ भने अर्कोतिर अन्तिम संस्कार समेत पूरा गर्न नसकेको पीडा छ। पिता गोविन्दबहादुरका अनुसार सशस्त्र प्रहरी सङ्गठनका अधिकारीले धैर्य गर्न आग्रह गरे पनि परिवारले हालसम्म सरकारीस्तरबाट नगद सहयोग वा अन्य राहत प्राप्त गरेको छैन।
‘बाबा कहिले आउनु हुन्छ, ममी ?’
भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका अर्का राष्ट्रसेवक हुन् नुवाकोटको लिखु गाउँपालिका–१, ढिकुरेका ३५ वर्षीय सशस्त्र प्रहरी सहायक हवलदार आशिष पौडेल। मैलुङ जलविद्युत् आयोजनामा कार्यरत आशिष बाढी आउनुभन्दा करिब १५ दिनअघि मात्र घर आएका थिए। परिवारसँग केही समय बिताएर पुनः कर्तव्यमा फर्किएका उनी घरमा फर्कन नपाउँदै बाढीपछि सम्पर्कविहीन भए।
आशिषकी श्रीमती जानुका भण्डारी अहिले चार वर्षीय छोरासहित श्रीमानको प्रतीक्षामा छिन्। केही दिनअघि राष्ट्रसेवक कर्मचारी समाजले उपलब्ध गराएको राहत लिन विदुर आएकी जानुका कार्यक्रममा परिचय दिने क्रममा ‘म आशिष पौडेलको श्रीमती’ भन्नासाथ भक्कानिइन्।
आँखाबाट आँशु झार्दै उनले भनिन्, “छोरालाई बाबाको दुःखद् खबरबारे बुझाएर भनिएको छैन। बुझ्ने बेला पनि भएको छैन। तर ‘बाबा कहिले आउनु हुन्छ, ममी ?’ भन्दा नाजवाफ भएर आँशु पुछ्नु बाहेक अरू विकल्प हुँदैन।”
चार वर्षको बालकका लागि बुबा कहाँ छन् भन्ने प्रश्नको जवाफ दिन जानुकालाई कठिन भइरहेको छ। श्रीमानको अवस्था के भयो भन्ने स्पष्ट खबर नपाउँदा उनी स्वयं पनि अन्योलमा छिन्। “के भन्ने, के नभन्ने अन्योलमा परेकी छु”, जानुकाले भनिन्।
सन्तोषकी श्रीमती सावित्री र आशिषकी श्रीमती जानुका जस्ता परिवारका लागि बाढी गएको महिना दिन बितिसकेको भए पनि त्यो दिनले दिएको पीडा अझै सकिएको छैन। नदीमा आएको भेल रोकिएको छ, तर उनीहरूको मनमा उठेको भेल भने अझै थामिएको छैन।
आशिष र सशस्त्र प्रहरी जवान साजन कुँवरले भोटेकोशी बाढीमा कर्तव्य निर्वाहका क्रममा जीवन गुमाएका थिए। गत साता सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले नुवाकोटको लिखु गाउँपालिका–१, बरफेदी पुगेर उनीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए। महानिरीक्षक पौडेलले पीडित परिवारसँग भेट गरी समवेदना तथा सहानुभूति व्यक्त गरेका थिए। उनले बेपत्ता सशस्त्र प्रहरी कर्मचारीको खोज तथा उद्धार कार्यमा सशस्त्र प्रहरी बल निरन्तर समर्पित रहने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।
एउटै विपत्तिले धेरै परिवारको आधार खोस्यो
भोटेकोशी बाढीले रसुवा र नुवाकोटका सर्वसाधारणसँगै सरकारी तथा सार्वजनिक सेवा प्रवाहमा खटिएका राष्ट्रसेवक कर्मचारीलाई पनि ठूलो क्षति पुर्याएको छ। कर्तव्य निर्वाहकै क्रममा कर्मचारीको मृत्यु तथा बेपत्ता भएपछि उनीहरूका परिवार आर्थिक, सामाजिक र मानसिक रूपमा थप प्रभावित भएका छन्।
यही अवस्थालाई ध्यानमा राख्दै नुवाकोटलाई जन्मथलो बनाएर विभिन्न सरकारी सेवामा कार्यरत तथा सेवानिवृत्त कर्मचारीको साझा संस्था राष्ट्रसेवक कर्मचारी समाज नुवाकोटले प्रभावित परिवारलाई राहत उपलब्ध गराएको छ। समाजले केही दिनअघि विदुरमा आयोजित कार्यक्रममा बाढीका कारण मृत्यु तथा बेपत्ता भएका राष्ट्रसेवक कर्मचारीका परिवारलाई जनही २५ हजार रुपैयाँका दरले नगद सहयोग प्रदान गरेको हो।
समाजका अध्यक्ष उदयबहादुर रानामगरका अनुसार सरकारी तथा सरकारी स्वामित्वका सार्वजनिक सेवा प्रवाहमा कार्यरत र नुवाकोटलाई जन्मथलो बनाएर राष्ट्रसेवामा खटिएका २१ जना कर्मचारी बाढीका कारण मृत्यु तथा बेपत्ता भएको तथ्याङ्कका आधारमा राहत उपलब्ध गराइएको हो।
“राष्ट्रसेवामा समर्पित भएर कार्यक्षेत्रमा खटिएका कर्मचारी आफै बाढीमा परी प्रभावित हुनु दुःखद् अवस्था हो”, रक्षा मन्त्रालयका सहसचिव रानामगरले भने, “यस दुःखको घडीमा राष्ट्रसेवक कर्मचारी समाजका तर्फबाट नगद सहयोगसहित आगामी दिनमा प्रभावित परिवारलाई आवश्यक सहयोग र सहजीकरण गरिनेछ।”
आफ्नै सहकर्मी तथा राष्ट्रसेवामा समर्पित कर्मचारीका परिवार विपत्तिमा परेपछि समाजमा आबद्ध कर्मचारीले व्यक्तिगत योगदानबाट राहत रकम जुटाएका हुन्। समाजका कोषाध्यक्ष कृष्णराज खतिवडाका अनुसार राहतका लागि समाजमा आबद्ध ८५ जना कर्मचारीबाट तीन लाख एक हजार २२५ रुपैयाँ संकलन भएको थियो। त्यसमा संस्थाको कोषबाट थप दुई लाख रुपैयाँ व्यवस्था गरी प्रभावित परिवारलाई राहत उपलब्ध गराइएको हो।
सहकर्मीको योगदानबाट जुटेको रकम ठूलो आर्थिक सहायता नभए पनि विपत्तिमा परेका परिवारका लागि त्यसले आत्मीयता र साथको अनुभूति गराएको छ। विशेषगरी आफन्तको अवस्था अझै स्पष्ट हुन नसकेका परिवारका लागि यस्तो सहयोग आर्थिकभन्दा पनि सामाजिक र मनोवैज्ञानिक सहाराका रूपमा देखिएको छ।
नुवाकोटलाई जन्मथलो बनाई विभिन्न सरकारी सेवामा कार्यरत तथा सेवानिवृत्त कर्मचारीको साझा संस्थाका रूपमा राष्ट्रसेवक कर्मचारी समाजले कर्मचारीको हकहितका साथै जिल्लाको विकास, समृद्धि र सकारात्मक परिवर्तनका लागि विभिन्न रचनात्मक गतिविधि सञ्चालन गर्दै आएको छ। अहिले समाजका लागि सबैभन्दा ठूलो दायित्व बाढीमा आफ्ना सदस्य गुमाएका परिवारको साथमा उभिनु बनेको छ। हराएका प्रियजनको खोजी, परिवारलाई आवश्यक राहत, बालबालिकाको भविष्य र मानसिक पीडाबाट बाहिर ल्याउने प्रयासमा राज्य र सम्बन्धित संस्थाको निरन्तर साथ आवश्यक देखिन्छ।
भोटेकोशी बाढीले पुर्याएको क्षतिको पूर्ण विवरण अझै संकलन हुँदै गर्दा राष्ट्रसेवक परिवारका पीडा भने तत्काल मेटिने अवस्थामा छैनन्। कतिपय परिवारले मृत्युको पीडा स्वीकार गरिसकेका छन्, कतिपयले शव समेत देख्न नपाई अन्तिम संस्कार गरेका छन् भने कतिपयको मनमा अझै प्रियजन फर्कने झिनो आशाको त्यान्द्रो बाँकी छ।




प्रतिक्रिया