नयाँ प्रशासनिक भवनबाट सेवा सुरु


गुल्मी, २१ वैशाख । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ । गाउँपालिका–३ स्थित भेँडुवामा निर्मित सो भवनबाट सेवा सुरु गरिएको गाउँपालिका अध्यक्ष रामपसाद पाण्डेले जानकारी दिए ।

नवनिर्मित भवनमा सभाहल, बैठक कक्ष र कर्मचारीका लागि आवाससहित ३२ वटा कोठा छन् । चारतले उक्त भवनमा अशक्त तथा ज्येष्ठ नागरिकलाई सहज रूपमा आवतजावत गर्न लिफ्टको व्यवस्था गरिएको छ । सङ्घीय सरकार र गाउँपालिकाको संयुक्त लगानीमा नौ करोड १० लाख ९९ हजार ४३५को लागतमा उक्त भवन निर्माण सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले बताए । भवन निर्माणका लागि अम्बेमाँ बलदेव जेभी, भरतपुरले जिम्मा पाएको थियो ।

निर्माण कम्पनीले २०८२ असार ५ गतेभित्र काम सम्पन्न गर्नुपर्ने सम्झौता गरेको भए पनि निर्धारित समयभन्दा दुई महिना अघिनै भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको गाउँपालिकाले जनाएको छ । रासस