आईपीएल : आरसीबी र चेन्नई विजयी हुँदा लखनऊ र मुम्बई प्लेअफबाट बाहिरिए


काठमाडौं, वैशाख २८ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरुले मुम्बई इन्डियन्सलाई हराएको छ । हिजो राती भएको खेलमा मुम्बईले दिएको १सय ६७ रनको लक्ष्य बेङ्गलुरुले ८ विकेट गुमाएर पूरा गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६६ रन बनाएको थियो । जितसँगै बेङ्गलुरु १४ अंकसहित तालिकाको पहिलो स्थानमा उक्लिएको छ । हारसँगै मुम्बई इन्डियन्स भने प्रतियोगिताको प्लेअफ दौडबाट बाहिरिएको छ । मुम्बई ६ अंकसहित तालिकाको नवौँ स्थानमा छ ।

त्यसअघि हिजै चेन्नई सुपर किङ्ग्ससँग लखनऊ सुपर जायन्ट्स पाँच विकेटले पराजित भएको छ । लखनऊले दिएको २ सय ४ रनको लक्ष्य चेन्नईले चार बल बाँकी रहँदा पाँच विकेट गुमाएर पूरा गरेको हो ।

जितपछि ११ खेलमा १२ अंक जोडेको चेन्नईले प्लेअफ पुग्ने सम्भावना जीवितै राखेको छ । हारसँगै समान खेलमा ६ अंक भएको लखनऊको भने अगाडि बढ्ने सम्भावना सकिएको छ । आईपीएलमा आज पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच खेल हुँदैछ ।