सत्तापक्षबाटै स्वतन्त्र न्यायपालिका कमजोर पार्ने खेल भइरहेको एमालेको दाबी


काठमाडौँ । नेकपा एमालेले न्यायपालिकाको प्रमुख बन्ने कुरा प्रधानमन्त्रीको तजबिजले निर्धारण गर्न खोजिएको भन्दै आपत्ति जनाएको छ ।

प्रतिनिधिसभा बैठकमा एमाले सांसद पद्मा अर्यालले सरकारले ल्याएको अध्यादेश र अध्यादेश कार्यान्वयन गर्दैगर्दा प्रधानन्यायाधीश सिफारिसको विषयले स्थापित मान्यता उल्लंघन गरेको टिप्पणी गरिन् ।

‘न्यायपालिकाको प्रमुख को हुने भन्ने कुरा विधिले नभई प्रधानमन्त्रीको तजबिजले निर्धारण गर्ने खतरनाक भाष्य सिर्जना गर्न खोजिएको भन्दै उनले आपत्ति जनाइन् । सरकारको रवैयाले न्यायालय कमजोर हुने उनको भनाइ छ ।

आफ्ना निर्णयमाथि उठ्ने प्रश्नहरूबाट सरकार भाग्न खोजेको प्रमाण अध्यादेश भएको उनले दाबी गरिन् ।

अध्यादेश ल्याएर गरिएको प्रधानन्यायाधीश सिफारिसबाट देशको इतिहासमै पहिलोपटक स्थापित मान्यताको धज्जी उडाएको सांसद अर्यालको भनाइ छ ।