पूर्वसञ्चारमन्त्री खरेलले राजधानी दैनिकविरुद्ध साइबर ब्यूरो र प्रेस काउन्सिलमा दिए उजुरी


काठमाडौँ, २८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्वमन्त्री जगदीश खरेलले राजधानी दैनिकविरुद्ध प्रेस काउन्सिल नेपाल र नेपाल प्रहरीको साइबर ब्युरोमा छुट्टाछुट्टै उजुरी दर्ता गराएका छन् । उनले आफुँबारे भ्रामक, झुटा, आधारहीन तथा कपोलकल्पित समाचार प्रकाशित गरेको भन्दै उजुरी दर्ता गरेका हुन् ।

उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, “भ्रम फैलाउने केही सामाजिक सञ्जालविरुद्ध पनि मैले उजुरी दिएको छु । न्याय पाउनेमा मेरो पूर्ण विश्वास छ। साथै, सम्बन्धित पत्रिकाले माफी माग्दै मेरो सार्वजनिकरुपमा आएको खण्डनलाई अघिल्लो समाचारसरह प्राथमिकताका साथ प्रकाशित गर्न माग गर्दछु। यस घटनाले मेरो प्रतिष्ठा र स्वाभिमानमा गम्भीर ठेस पुगेको छ।”

मिडियाको आवरणमा हुने यस्ता गैरजिम्मेवार गतिविधिले समग्र व्यावसायिक पत्रकारिताको छविमा असर पार्ने भएकाले यसप्रति गम्भीर ध्यानाकर्षण गराउन चाहेको उनले बताएका छन् । उनले भने, “म स्वतन्त्र र व्यावसायिक पत्रकारिताको पक्षधर हुँ, र मेरो जग पनि यही हो ।”

खरेलले आफूविरुद्ध मिडियाले भ्रम फैलाइएको भन्दै आज बसेको प्रतिनिधि सभाको बैठकमा आपत्ति जनाएका थिए ।