कांग्रेस डिजिटल रूपान्तरण: एकताको आवश्यकता र गगन नेतृत्व



नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक शक्ति नेपाली कांग्रेस अहिले इतिहासकै संवेदनशील मोडमा उभिएको छ । पार्टीभित्र देखिएको आन्तरिक शक्ति संघर्ष, डिजिटल रूपान्तरणको बहस र नेतृत्वको पुनर्संरचनाले कांग्रेसलाई केवल संगठनात्मक संकटतर्फ होइन, भविष्यको चरित्र निर्धारण गर्ने निर्णायक घडीमा पुर्‍याएको छ ।

सभापति गगन थापाले अघि सारेको डिजिटल सदस्यता अद्यावधिक अभियानले कांग्रेसभित्र नयाँ बहस मात्र जन्माएको छैन, यसले पुरानो राजनीतिक संस्कार र नयाँ पुस्ताले खोजिरहेको आधुनिक, डेटा(आधारित तथा परिणाममुखी राजनीतिक सोचबीचको द्वन्द्वलाई खुला रूपमा सतहमा ल्याइदिएको छ । सतहमा हेर्दा यो विवाद गगन थापा र देउवा(कोइराला समूहबीचको सामान्य गुटीय प्रतिस्पर्धाजस्तो देखिए पनि यसको वास्तविक अर्थ निकै गहिरो छ । यो संघर्ष वास्तवमा पार्टीको भावी दिशा, संगठनात्मक संरचना, राजनीतिक संस्कार र आधुनिक प्रविधिप्रतिको दृष्टिकोणबीचको टकराव हो ।

कांग्रेसभित्र अहिले उठिरहेको प्रश्न केवल “को नेतृत्वमा पार्टी चल्ने रु” भन्ने होइन, “कस्तो कांग्रेस निर्माण गर्ने रु” भन्ने हो ।
गगन थापाले अघि सारेको डिजिटल सदस्यता अद्यावधिक अभियानलाई औपचारिक रूपमा संगठन सुदृढीकरण, निष्क्रिय सदस्य हटाउने, वास्तविक सदस्यको अभिलेख तयार गर्ने तथा पार्टीलाई आधुनिक डेटा प्रणालीमा रूपान्तरण गर्ने प्रयासका रूपमा प्रस्तुत गरिएको छ ।

विश्व राजनीतिमा अहिले डेटा, डिजिटल नेटवर्क र मतदाता प्रोफाइलिङ चुनावी रणनीतिको केन्द्र बनिसकेको सन्दर्भमा कांग्रेसभित्र पनि यस्तो प्रणालीको आवश्यकता अस्वाभाविक होइन । भारतको भाजपा, अमेरिकाको डेमोक्रेटिक पार्टी वा बेलायतको लेबर पार्टीले समेत सदस्यता व्यवस्थापन र चुनावी रणनीतिमा डिजिटल प्रविधिलाई प्रभावकारी रूपमा प्रयोग गरिरहेका छन् । त्यसैले कांग्रेसभित्र डिजिटल संरचनाको बहस ढिलो भए पनि आवश्यक बहस हो ।
तर समस्या प्रक्रियाभन्दा बढी समय र मनसायलाई लिएर देखिएको छ ।

१५औँ महाधिवेशन नजिकिँदै गर्दा तीव्र गतिमा सदस्यता अद्यावधिक अभियान अघि बढाइनुले देउवा समूहभित्र आशंका जन्मायो कि यो अभियान संगठन सुधारभन्दा बढी शक्ति सन्तुलन बदल्ने रणनीति हुन सक्छ । कांग्रेसको आन्तरिक राजनीतिमा क्रियाशील सदस्यता केवल अभिलेख होइन, शक्ति मापनको आधार हो । यही सदस्यताले प्रतिनिधि चयन गर्छ, प्रतिनिधिले नेतृत्व चयनको समीकरण तय गर्छ । त्यसैले सदस्यता विवाद वास्तवमा नेतृत्वको भविष्यसँग प्रत्यक्ष जोडिएको विषय हो ।

देउवा समूहको मुख्य चिन्ता यही देखिन्छ कि डिजिटल प्रक्रियाको नाममा पुराना संरचना कमजोर पार्ने र नयाँ नेतृत्वको प्रभाव क्षेत्र विस्तार गर्ने प्रयास भइरहेको छ । अर्कोतर्फ गगन पक्षले यसलाई पहुँच र गुटीय प्रभावका आधारमा बनेको पुरानो संरचनाबाट पार्टीलाई मुक्त गर्ने अभियानका रूपमा व्याख्या गरिरहेको छ । यही अविश्वास अहिले कांग्रेसभित्रको मुख्य संकट बनेको छ ।
यो विवादले कांग्रेसभित्र दुई फरक राजनीतिक संस्कृतिलाई स्पष्ट रूपमा उजागर गरेको छ ।

पहिलो, पुरानो शैलीको राजनीति, जहाँ व्यक्तिगत सम्बन्ध, क्षेत्रीय प्रभाव, गुटीय निष्ठा र वर्षौंदेखि निर्माण गरिएको संगठनात्मक नियन्त्रणलाई प्राथमिकता दिइन्छ । यही शैलीले कांग्रेसलाई लामो समय टिकाइराख्यो, आन्दोलन र लोकतान्त्रिक संघर्षमा बलियो बनायो । तर समयअनुसार परिवर्तन गर्न नसक्दा यही शैली अहिले आलोचनाको केन्द्रमा पनि पुगेको छ ।

दोस्रो, आधुनिक, प्रविधिमैत्री र परिणाममुखी राजनीति हो, जसलाई गगन थापा लगायतको युवा पुस्ताले प्रतिनिधित्व गरिरहेका छन् । उनीहरू पार्टीलाई डिजिटल प्रणालीमा लैजान, सदस्यताको वैज्ञानिक अभिलेख राख्न, डेटा(आधारित चुनावी रणनीति बनाउन र युवालाई आकर्षित गर्न चाहन्छन् । तर नेपाली राजनीतिमा समस्या के छ भने नयाँ पुस्ताले पुरानो संरचनाको भावनात्मक पक्षलाई कम आँक्ने गर्छ भने पुरानो पुस्ताले परिवर्तनको आवश्यकतालाई सहज रूपमा स्वीकार गर्न सक्दैन । कांग्रेसभित्र अहिले यही मनोवैज्ञानिक दूरीले तनाव बढाएको छ ।

सदस्यता विवादसँग जोडिएको कानुनी बहसपछि सर्वोच्च अदालतले गगन नेतृत्वको प्रक्रियालाई सदर गरेपछि राजनीतिक रूपमा गगन पक्ष बलियो देखिएको छ । तर कानुनी विजयले मात्र राजनीतिक सहमति निर्माण गर्न सक्दैन भन्ने यथार्थ कांग्रेसभित्र फेरि प्रमाणित भएको छ ।

शेखर कोइराला पक्षले गगन नेतृत्वलाई औपचारिक मान्यता दिने संकेत गरे पनि उनीहरू पूर्ण रूपमा कुनै पक्षमा खुलेर उभिएका छैनन् । देउवा पक्षसँग दूरी कायम राख्दै सुधारवादी धारलाई जोगाउने रणनीतिमा कोइराला पक्ष देखिन्छ । यसले कांग्रेसभित्र गगन नेतृत्वको सुधारवादी समूह, देउवा समूहको परम्परागत शक्ति केन्द्र र शेखर कोइरालाको सन्तुलनकारी धार गरी त्रिकोणीय शक्ति संरचना निर्माण गरेको छ । यही जटिल समीकरणले पार्टीलाई निर्णायक निष्कर्षमा पुग्न कठिन बनाइरहेको छ ।
तर कांग्रेसको सबैभन्दा ठूलो चुनौती अहिले आन्तरिक विवाद मात्र होइन, जनमतको बदलिँदो मनोविज्ञान पनि हो ।

एक समय कांग्रेस लोकतन्त्र, त्याग र आन्दोलनको प्रतीक थियो । अहिलेको मतदाता विशेषगरी युवा पुस्ता इतिहासभन्दा वर्तमान परिणाम हेर्न थालेको छ । उनीहरू सुशासन, सेवा प्रवाह, रोजगारी, डिजिटल पहुँच र प्रभावकारी नेतृत्व खोजिरहेका छन् । यस्तो समयमा कांग्रेसभित्र निरन्तर गुटीय झगडा, आरोउ(प्रत्यारोप र सदस्यता विवाद चलिरहनुले आम नागरिकमा नकारात्मक सन्देश गएको छ । जनतामा प्रश्न उठ्न थालेको छ( “आफ्नो पार्टीभित्र मिलाउन नसक्नेहरूले देश कसरी चलाउँछन् रु”
यही कमजोरीको फाइदा नयाँ राजनीतिक शक्तिहरूले उठाइरहेका छन् ।

विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले युवा, शहरी मतदाता र प्रविधिमैत्री राजनीतिक भाष्यलाई प्रभावकारी रूपमा उपयोग गरिरहेको छ । आफूलाई “पुरानो राजनीतिक संस्कारको विकल्प” का रूपमा प्रस्तुत गरिरहेको रास्वपाको उदयले कांग्रेसलाई स्पष्ट सन्देश दिएको छ( समयअनुसार बदलिन नसक्ने पार्टीहरू जनमतबाट बिस्तारै कमजोर हुँदै जान्छन् ।
यही पृष्ठभूमिमा सभापति गगन थापाले २८ वैशाखमा देउवा र शेखर कोइराला पक्षका १९ जनालाई केन्द्रीय समितिमा मनोनीत गर्नु अर्थपूर्ण राजनीतिक सन्देशका रूपमा हेरिएको छ ।

विशेष महाधिवेशनपछि पहिलोपटक गरिएको यो विस्तारले गगन थापाले विरोधी धारलाई पनि समेटेर सहमतिमूलक नेतृत्वको संकेत दिन खोजेको देखिन्छ । तर केवल पुराना अनुहार समेटेर गरिएको मनोनयनले मात्र कांग्रेसले खोजेको परिवर्तन पूरा हुँदैन । कांग्रेस जनले खोजिरहेको कुरा पद बाँडफाँट मात्र होइन, नयाँ सोच, नयाँ कार्यशैली र परिणाममुखी नेतृत्व हो ।
कांग्रेसलाई अहिले सबैभन्दा बढी आवश्यक परेको कुरा भनेको व्यापक एकता हो ।

जबसम्म पार्टीभित्र सबै धार, सबै पुस्ता र सबै नेतृत्व एक ठाउँमा आउँदैनन्, तबसम्म कांग्रेसको वास्तविक हित सम्भव देखिँदैन । गुटीय प्रतिस्पर्धाले क्षणिक शक्ति सन्तुलन त दिन सक्छ, तर दीर्घकालीन रूपमा यसले पार्टीलाई कमजोर बनाउने निश्चित छ । कांग्रेसलाई बचाउने शक्ति अब केवल पुरानो विरासतमा छैनस त्यो शक्ति संगठनात्मक एकता, आधुनिक सोच र नयाँ पुस्ताको विश्वासमा छ ।

यही सन्दर्भमा गगन थापाको नेतृत्व अहिले अवसर र चुनौती दुवै बनेको छ । उनले पार्टीलाई सही गोरेटोमा लैजान सक्ने सम्भावना धेरैले देखिरहेका छन् । कारण, उनी केवल परम्परागत राजनीतिक भाषामा सीमित छैनन्स उनी परिवर्तन, प्रविधि, पारदर्शिता र नयाँ पुस्ताको आकांक्षासँग जोडिएका नेता हुन् । तर उनको सफलता केवल डिजिटल प्रणाली लागू गर्नमा सीमित रहने छैन । उनको वास्तविक परीक्षा पुराना नेताहरूलाई विश्वासमा लिनु, गुटीय अविश्वास हटाउनु र जेन्जी पुस्तालाई कांग्रेसभित्र नेतृत्वदायी भूमिकामा ल्याउनुमा हुनेछ ।

आजको युवा पुस्ता केवल नारामा होइन, सहभागितामा विश्वास गर्छ । उनीहरू अवसर, भूमिका र सम्मान खोजिरहेका छन् । कांग्रेसले यदि जेन्जी पुस्तालाई पार्टीको केन्द्रमा ल्याउन सकेन भने भविष्यको राजनीति उसले गुमाउन सक्छ । त्यसैले कांग्रेसको रूपान्तरण केवल प्रविधि जोड्ने विषय होइन, पुस्तान्तरण र सोचको परिवर्तनसँग पनि जोडिएको विषय हो ।

देउवा समूह अझै पनि कांग्रेसको संगठनात्मक शक्ति हो । शेखर कोइराला पक्षको भूमिका पनि छ । यदि गगन थापाले यी दुवै धारलाई विश्वासमा लिएर साझा सुधारवादी मार्ग बनाउन सके भने कांग्रेसले नयाँ ऊर्जा प्राप्त गर्न सक्छ । अन्यथा पार्टी फेरि पुरानै ध्रुवीकरण र अविश्वासको चक्रमा फस्ने खतरा रहन्छ ।

कांग्रेसभित्रको अहिलेको संकट समाधान गर्न सबै पक्षले मध्यमार्ग अपनाउन आवश्यक छ । सदस्यता अद्यावधिक प्रक्रियालाई पूर्ण पारदर्शी बनाउनुपर्छ, प्रविधिलाई मानवीय संवेदनासँग जोड्नुपर्छ र १५औँ महाधिवेशनलाई निष्पक्ष, विश्वसनीय र सहमतिमूलक बनाउने वातावरण तयार गर्नुपर्छ ।नेतृत्वले “मेरो समूह” र “तिम्रो समूह” को मानसिकता त्यागेर “हाम्रो कांग्रेस” को भावनालाई प्राथमिकता दिनुपर्छ ।

अन्ततः नेपाली कांग्रेसको भविष्य केवल डिजिटल डेटा, मनोनयन वा गुटीय समीकरणले तय गर्ने छैन । पार्टीको भविष्य निर्धारण गर्ने कुरा नेतृत्वको दूरदृष्टि, संगठनात्मक एकता, युवा पुस्ताप्रतिको विश्वास र जनतामाझको विश्वसनीयता हो । यदि कांग्रेसले अहिलेको संकटलाई अवसरमा बदल्न सक्यो भने यो पार्टी पुनर्जागरणको आधार बन्न सक्छ । तर यदि आन्तरिक अविश्वास र शक्ति संघर्षमै अल्झिरह्यो भने इतिहासको गौरव बोकेको पार्टी क्रमशः कमजोर संरचनामा सीमित हुने खतरा बढ्दै जानेछ ।

आज कांग्रेसलाई सबैभन्दा बढी आवश्यक परेको कुरा एउटै हो( विश्वास, संवाद र साझा लक्ष्य । र त्यो साझा लक्ष्य प्राप्त गर्न सबै धार एक ठाउँमा आउनु अपरिहार्य छ । अहिलेको परिस्थितिमा कांग्रेसलाई सही गोरेटोमा लैजान सक्ने क्षमता गगन थापाको नेतृत्वसँग देखिएको छ । तर त्यो यात्रा सफल बनाउन उनको एक्लो प्रयास पर्याप्त हुँदैन । पुरानो पुस्ताको अनुभव, मध्यम पुस्ताको सन्तुलन र नयाँ पुस्ताको ऊर्जा एकै ठाउँमा जोडिन सकेमात्र कांग्रेस फेरि नेपाली राजनीतिमा निर्णायक शक्ति बन्न सक्छ ।

(लेखक-राम कुमार क्षेत्री हुन् ।)