काठमाडौं, वैशाख २८ । आज बसेको संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पढिरहँदा प्रधानमन्त्री बालेन शाह बीचमै उठेर हिंडेको घटनाबारे उनका राजनीतिक सल्लाहकार असिम शाहले मुख खोलेका छन् ।
प्रधानमन्त्री बालेन शाहले संसदको विशेष बैठक छलेर बीचबाटै उठेको घटनाबारे प्रष्ट पार्दै सल्लाहकार शाहले समाजिक सञ्जालमार्फत स्वास्थ्यको कारण देखाउँदै स्पष्टीकरण दिए लगत्तै उक्त पोष्ट डिलिट गरेका छन् ।
प्रधानमन्त्रीको वचाउ गर्दै सोमबार साँझ फेसबुकमार्फत संसदमा बस्दैगर्दा स्वास्थ्यमा समस्या आएपछि नीति तथा कार्यक्रम पढ्दापढ्दै बैठक छाड्नुपरेको दाबी गरेका शाहले केही समयमा सयौ प्रतिक्रिया आएपछि उक्त पोष्ट डिलिट गरेका छन् ।
‘प्रधानमन्त्रीज्यूलाई स्वास्थ्यमा असहजता देखिएकाले नीति तथा कार्यक्रम प्रस्तुतिको क्रममा केही समयका लागि विश्राम लिनु भएको थियो । त्यसपछि उहाँ पुनः कार्यक्रममा सहभागी हुनु भएको हो, उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराइन्छ ।’ शाहले डिलिट गरेको पोष्टमा लेखेका थिए । प्रधानमन्त्री शाह राष्ट्रपतिले नीति कार्यक्रम पढ्दापढ्दै बीचबाट निस्किएर हिँडेको भन्दै उनको चौतर्फी आलोचना भइरहेको छ । अहिले यो स्ट्याटस उनको वालमा छैन ।





प्रतिक्रिया