काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकार र प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति कडा आपत्ति जनाएका छन् ।
राष्ट्रपतिले सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बीचैमा उठेर हिँडेको विषयलाई उनले व्यङ्ग्यात्मक रुपमा गिनिज बुकमा रेकर्ड राख्ने विषय भएको टिप्पणी गरे । ‘राष्ट्रप्रमुखले सदनमा बोलिरहँदा संसारको कुनै पनि देशको प्रधानमन्त्री बीचैमा उठेर हिँडे भनेर अब गिनिज बुकमा रेकर्ड रहने भएको छ,’ उनले थपे, ‘अचानक स्वास्थ्यमा समस्या भएर हिँड्नुभएको हो भने जँचाएर सदनलाई खबर गरियोस्, प्रधानमन्त्री रास्वपाको मात्र नभई हाम्रो पनि हो ।’
सत्ताको भारी र अहंकारले प्रधानमन्त्रीको गरिमामा दाग लागेको भन्दै उनले सभामुखको भूमिकामाथि पनि प्रश्न उठाए । सभामुखले सदनलाई व्यावहारिक र गरिमामय बनाउन नसकेको उनको आरोप थियो । संसद्को मुख्य अधिकार कानुन निर्माण भए पनि सरकारले संसद्लाई छलेर अध्यादेशमार्फत शासन चलाउन खोजेको उनको भनाइ छ ।
‘आह्वान भइसकेको अधिवेशन एकाएक स्थगन गरेर अध्यादेश ल्याउनु संसदीय गरिमा र लोकतान्त्रिक मूल्यमाथिको प्रहार हो,’ आङ्देम्बेले भने, ‘यस्तो प्रवृत्तिले सिर्जना गर्ने दूरगामी असर भयावह हुन सक्छ, यसलाई हाम्रो पार्टीले समर्थन गर्न सक्दैन ।’
नेता आङ्देम्बेले सरकार सामाजिक सञ्जालमा मात्रै सक्रिय रहेको तर जनताको समस्या र संसद्को संवादबाट हराएको भन्दै कटाक्ष गरे । सुकुम्बासी र गरिब बस्तीमाथि क्रूरतापूर्वक डोजर चलाएर मानवीय संवेदना कुल्चिएको उल्लेख गर्दै उनले सरकारले अभिभावकको भूमिका निर्वाह गर्न नसकेको बताए ।
गृहमन्त्री नभएको अवस्थामा प्रधानमन्त्रीले राज्य व्यवस्था समितिमा जवाफ दिनुपर्नेमा उनी पन्छिएको आङ्देम्बेले बताए । प्रधानमन्त्रीकै कारण राज्य व्यवस्था समितिको बैठक बस्न नसकेको र समिति अनिर्णयको बन्दी बनेको उनले दाबी गरे । साथै, भन्सारको ‘सय रुपैयाँ’को नियममा व्यावहारिक बन्न पनि उनले आग्रह गरे ।




प्रतिक्रिया