काठमाडौं, वैशाख ३० । काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योति प्रकाश पाण्डे ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसूरमा पक्राउ परेका छन् ।
‘स्मार्ट टेलिकम प्रा।लिु को अनुमतिपत्र रद्द भई नेपाल सरकारको नियन्त्रणमा रहेको सम्पत्तिलाई बेइमानीपूर्वक हानी नोक्सा पु¥याएको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । ६३ वर्षीय पाण्डेलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सहयोगमा सिन्धुलीको बसपार्कस्थित मदनभण्डारी राजमार्गबाट लुकिछिपी भागिरहेको अवस्थामा मिति २०८३/०१/२९ गते राति पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले जनाएको छ ।
अनुसन्धानका अनुसार, स्मार्ट टेलिकमले अनुमतिपत्र नवीकरण नगरेपछि सरकारको स्वामित्वमा आएका भौतिक संरचना र प्रणालीहरूलाई लिलामी प्रक्रियामार्फत सरकारी हक टुटाउने उद्देश्यले काम गरेको पाइएको छ । पाण्डे लोन रिकभरी कमिटि को अध्यक्षको हैसियतमा उक्त प्रक्रियामा संलग्न थिए । उनले प्रयोग गर्ने मोबाइल फोन स्विच अफ गरी फरार हुन खोज्दा प्रहरीले सवारी चेकजाँचको क्रममा उनलाई फेला पारेको थियो ।
यसका साथै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २०८२/०६/०३ मा निकालेको लिलामी सूचनामा घरबहाल र विद्युत महसुल वापतको ४० करोड रुपैयाँ समेत कबोल गर्नुपर्ने शर्त राखेको देखिएको छ । बैंकले उक्त रकम लिएर पनि हालसम्म घरधनी र विद्युत महसुल नबुझाई ठगी गरेको भन्दै प्रहरीले मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत थप अनुसन्धान अगाडि बढाएको छ ।
यस घटनामा संलग्न अन्य विषय र प्रमाणहरूका बारेमा ब्यूरोले थप खोजी गरिरहेको प्रवक्ता शिव कुमार श्रेष्ठले जानकारी दिएका छन् ।





प्रतिक्रिया