इन्भेष्टमेण्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउ परेपछि बैंकर्स संघद्वारा कडा विरोध


काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलाई पक्राउ गरेकोमा नेपाल बैंकर्स संघले विरोध जनाएको छ ।

वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूको छाता संगठन एनबीएले यस विषयमा सरकारको ध्यानाकर्षण गराउने जनाएको छ ।

‘बैठकले पाण्डे पक्राउको विरोध जनाउँदै यसलाई राज्य आतंकको रूपमा लिएको छ ।
बाफियाको दफा ५७ अनुसार आफ्नो कर्तव्य निर्वाह गर्दा राज्यको तर्फबाट धरपकड भएको संघको निष्कर्ष छ ।

ऋणीले कर्जा तिर्न नसकेपछि उसको सम्पत्ति लिलाम गरेर असुल्दा बैंकर पाण्डे पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीईआईबीले स्मार्ट सेलको सम्पत्ति लिलाम गरेर राज्यलाई नोक्सानी भएको आरोपमा बैंकर पाण्डेलाई पक्राउ गरेपछि बैंकिङ क्षेत्र तरंगित बनेको छ ।

यसैबीच, बैंक तथा वित्तीय संस्था सञ्चालकहरूको संगठन बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको पनि बैठक बसेर आधिकारिक धारणा बनाउने उल्लेख गरिएको छ ।