काठमाडौँ । नेपालको शिक्षा क्षेत्रको सुधार र सुदृढीकरणका लागि विश्व बैंकले थप लगानी गर्ने चासो देखाएको छ । नेपालका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग मन्त्रालयमा गरेको शिष्टाचार भेटवार्ताका क्रममा यस्तो प्रतिबद्धता जनाएका हुन् ।
भेटमा मुख्यगरी शिक्षा क्षेत्रको पूर्वाधार विस्तार र प्रविधिमैत्री शिक्षण प्रणाली निर्माणका विषयमा केन्द्रित रहेर छलफल भएको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ । शैक्षिक सुधारका दीर्घकालीन योजना र गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न दुई पक्षीय साझेदारीलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे पनि संवाद भएको थियो ।
शिक्षामन्त्री पोखरेलले मन्त्रालयका आगामी प्राथमिकता प्रस्तुत गर्दै शैक्षिक पूर्वाधार विकास र आधारभूत सिकाइलाई सुदृढ बनाउनु सरकारको मुख्य लक्ष्य रहेको उल्लेख गरे । उनले शिक्षामा डिजिटाइजेशन र प्रविधिको विस्तारलाई सरकारले प्रमुख एजेन्डाका रूपमा अघि बढाएको समेत जानकारी दिए ।
भेटका क्रममा डिजिटल शिक्षाको पहुँच विस्तार, विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार र वर्तमान शिक्षा प्रणालीलाई समयानुकूल रूपान्तरण गर्ने विषयमा समेत विस्तृत छलफल भएको शिक्षा मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया