झापा । वरिष्ठ पत्रकार ऋषि धमलाले खाद्यवस्तुको शुद्धता र पौष्टिकता नै स्वस्थ राष्ट्रको आधार भएको बताएका छन् । झापामा नेपाल फुड सोसाइटीले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय फुड फेस्टिबल २०८३’ मा प्रमुख अतिथिका रुपमा बाेल्दै धमलाले खाद्यवस्तुको शुद्धता र पौष्टिकतामा जोड दिएका हुन् ।
फुड फेस्टिबलका प्रमुख अतिथि चर्चित पत्रकार धमलालाई नजिकबाट नियाल्न र उनीसँग सेल्फी खिच्न तँछाडमछाड गर्नेको भीड लागेको थियो । झापाको टन्टलापुर घाममा पनि खानाका परिकारभन्दा बढी ऋषि धमलासँग तस्वीर खिच्न स्थानीय सर्वसाधारण लालायित देखिन्थे ।
धमलाले भने, ‘नेपालीहरूले अब के खाने र कसरी स्वस्थ रहने भन्ने कुरामा सम्झौता गर्नु हुँदैन । नेपाल फुड सोसाइटीले उत्पादक र उपभोक्ताबीच जुन पुलको काम गरेको छ, यो ऐतिहासिक छ । ४३ देशका मानिसलाई झापाको माटोमा ल्याएर हाम्रो स्वाद पस्कनु र विश्वको स्वाद चाख्न पाउनु गौरवको विषय हो ।’
झापाले धेरै नेताहरुलाई देशको प्रधानमन्त्री बनाएको धमलाको भनाइ छ । ‘झापाले धेरै नेता जन्मायो ,धेरै नेता प्रधानमन्त्री बनायो । ‘अहिले तीन करोड जनताले मन पराएको युवाहरुको ढुकढुकी बालेन शााहलाई प्रधानमन्त्री बनाएको पनि झापाकै जनताले हो,’ उनले भने ।
युवाहरु जागरुक भएका कारण अब देश बन्नेमा आफू आशावादी रहेको धमलाले स्पष्ट पारे । युवाहरु अध्ययनशील, मेहनती र देशलाई माया गर्ने भएकोले अब देश बन्नेमा आफू आशावादी रहेको धमलाकाे भनाइ छ ।
त्यस्तै उनले नेपाली सेफहरुले मिठो परिकार पकाउने भएकोले आफलाई गर्वको महसुस हुने बताए ।
‘फाइभ स्टार, सेभेन स्टार र थ्रीस्टार होटलमा पनि नेपाली सेफहरुको ठूलो प्रभाव छ,’ उनले भने ‘नेपाली सेफहरु आफू सिपालु र सक्षम भएकाले नै मिठो परिकार बनाउने गर्नुभएको हो । यसमा मलाई आनन्द र गर्व लाग्छ ।’
फुड फेस्टिबलमा विश्वका ४३ देशका स्वादिला परिकार चाख्न पाइने आयोजकले जनाएका छन् । आयोजकका अनुसार महोत्सवमा नेपालसहित ४३ देशका प्रतिनिधि र खाद्य विज्ञहरूको सहभागिता छ । फेस्टिबलमा विभिन्न देशका मौलिक खानाका स्टलहरू राखिएका छन् ।
फेस्टिबलको मुख्य लक्ष्य नेपाली कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नु र विदेशी प्रविधिलाई नेपाली भान्सासम्म जोड्नु रहेको आयोजनको भनाइ छ ।








प्रतिक्रिया