प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको गीत सार्वजनिक


काठमाडौँ, १ जेठ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको शब्द रचना रहेको गीत ‘अब बन्छ मेरो देश’ आज सार्वजनिक भएको छ । गीतमा सामाजिक रूपान्तरण, अन्याय अत्याचारको अन्त्यसँगै आमनागरिकमा न्यायको लागि पलाएको आशा र भरोसा, आपसी सहिष्णुता, भातृत्वभाव र एकतामार्फत सम्बृद्धि प्राप्त हुने भाव प्रस्तुत गरिएको छ ।

गीतमा दीपक शर्माको संगीत र उदय राज पौडेलको एरेन्ज रहेको छ । गायक समिर खरेल, सदिच्छा कट्टेल, सबिन सुबेदी र बेनिसा पौडेलको स्वर रहेको उक्त गीतको भिडियोमा आर्यन सिग्देल, सबिन कार्की, कविता नेपाली, चाहना राना मगर र किरण थापालगायतका कलाकारहरूले अभिनय गरेको छ । किरण थापाको कोरियोग्राफी र निर्देशन रहेको उक्त गीतको भिडियोमा पवन सोस्लिङको छायांकन तथा सरोज ओलीको भिडियो परिकल्पना रहेको छ ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको शब्द रचनामा यसअघि सार्वजनिक भएका ‘आमा म त खरानीबाट उठेर आए’, ‘फूलको बास्ना सरी’लगायत दशैं, तिहार, बाल र कमर्सियल गीतहरू समेत सर्वसाधारणले निकै रूचाएका थिए । रासस