काठमाडौँ, १ जेठ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि इजरायलका महामहिम राजदूत श्मुलिक एरी बासले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटमा शुभकामना आदानप्रदानपश्चात् द्विपक्षीय सम्बन्ध, आर्थिक सहयोग, श्रम आप्रवासन, शिक्षा तथा तालिमलगायत विषयमा महत्वपूर्ण संवाद भएको थियो ।
उपराष्ट्रपति यादवले नेपाल–इजरायलबीच सन् १९६० जुन १ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि मित्रता, सद्भाव, पारस्परिक समझदारी तथा सहयोगमा आधारित उत्कृष्ट सम्बन्ध कायम रहिआएको बताए । उनले अर्थतन्त्र, व्यापार, पर्यटन तथा लगानीका क्षेत्रमा सहयोग विस्तार गर्ने प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै यस्ता अवसरको पहिचान तथा उपयोगमार्फत दुवै मुलुकले पारस्परिक लाभ हासिल गर्नसक्ने विश्वाससमेत व्यक्त गरे ।
उपराष्ट्रपति यादवले नेपाली श्रमिकलाई रोजगारीका अवसर उपलब्ध गराएकामा इजरायल सरकारप्रति धन्यवाद व्यक्त गरे । साथै, नेपाली विद्यार्थी तथा पेशाकर्मीहरूका लागि छात्रवृत्ति, व्यावसायिक तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमलाई इजरायलले निरन्तरता प्रदान गर्दै आएकामा नेपालले उच्च मूल्याङ्कन गरेको बताए ।
“शिक्षा, कृषि, सहकारी विकास, प्रहरी तथा सैनिक तालिमलगायतका क्षेत्रमा इजरायलले पु¥याउँदै आएको सहयोग प्रशंसनीय छ”, उनले भने, “विशेषतः कृषि प्रविधि, अनुसन्धान तथा क्षमता विकासमा हुने सहकार्यले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण तथा खाद्य सुरक्षामा रूपान्तरणकारी भूमिका खेल्न सक्छ ।” उपराष्ट्रपति यादवले दुवै देशका विश्वविद्यालय, अनुसन्धान संस्थान तथा नवप्रवर्तन प्रणालीबीच सहकार्यका अपार सम्भावना रहेको उल्लेख गरे ।
नेपाल–इजरायलले संयुक्त राष्ट्रसङ्घलगायत विभिन्न क्षेत्रीय तथा अन्तरराष्ट्रिय मञ्चहरूमा निकट सहकार्य र सहयोगको परम्परा कायम राख्दै आएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले आगामी दिनमा पनि यस्तो रचनात्मक सहकार्य अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरे ।
पश्चिम एशियाको विकसित परिस्थितिलाई नजिकबाट अवलोकन गरिरहेको नेपाल शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तप्रति दृढ प्रतिबद्ध रहेको र शान्ति, स्थायित्व तथा पारस्परिक समझदारी प्रवद्र्धन गर्ने प्रयासलाई निरन्तर समर्थन गर्दै आएको बताए ।
उपराष्ट्रपति यादवले इजरायलसँगको सम्बन्धलाई उच्च महत्व दिँदै दुई देशबीचको दीर्घकालीन मित्रतालाई अझ गहिरो तथा विस्तारित बनाउन नेपाल पूर्ण प्रतिबद्ध रहेको उल्लेख गरे । उनले इजरायलको ७८औँ स्वतन्त्रता दिवसको अवसरमा इजरायल सरकार तथा जनताप्रति हार्दिक शुभकामना व्यक्त गरे ।
इजरायली महामहिम राजदूतवासले नेपाललाई कृषि, माहुरीपालन, माछापालनलगायत क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक रहेको बताए । उनले ‘लर्न एण्ड अर्न’ कार्यक्रममार्फत धेरै नेपालीहरुले सीप सिकेर नेपालका विभिन्न क्षेत्रमा काम गरिरहेको उल्लेख गर्दै भविष्यमा पनि नेपालीहरुका लागि ‘वर्क अपच्र्युनिटी’ प्रदान गर्न इजरायल इच्छुक रहेको स्पष्ट गरे । साथै, नेपाललाई विभिन्न क्षेत्रमा प्राविधिक सहयोग गर्ने चाहना इजरायलको रहेको बताए । रासस




प्रतिक्रिया