गगन थापा सहभागी प्रदेश भेलामा गएका नेता कार्यक्रतालाई पार्टी कार्यालयमा ‘नो इन्ट्री’


काठमाडौं, जेठ १ । नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद कैलालीमा थप चर्किएको छ। गत बैसाख २६ गते धनगढीमा आयोजित कांग्रेसको सुदूरपश्चिम प्रदेशस्तरीय भेलामा सहभागी भएका नेता तथा कार्यकर्तालाई लक्षित गर्दै कैलालीस्थित जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिएको आरोप लागेको छ। जिल्ला सभापति नारायणदत्त भट्टकै निर्देशनमा कार्यालय बन्द गरिएको नेता कार्यकर्ताहरुले बताएका छन्।

पार्टी केन्द्रीय कार्यालयले जेठ १२ गतेभित्र क्रियाशील सदस्यता अध्यावधिक गरिसक्न निर्देशन दिएको भएपनि कैलालीमा भने त्यसको कार्यान्वयन प्रभावित बनेको छ। बुधबार धनगढीस्थित पार्टी कार्यालयमा वडा सभापति, क्षेत्रीय सभापति तथा अन्य नेता कार्यकर्ता सदस्यता अध्यावधिक लगायतका कामका लागि पुगेका थिए। तर कार्यालयको मुख्य गेटदेखि भित्रका कार्यकक्षसम्म ताला लगाइएको अवस्थामा भेटिएपछि उनीहरु आक्रोशित बने। कार्यालयको मूल ढोका बन्द भएपछि केही नेता तथा कार्यकर्ताले पछाडिको भागबाट सिँढी प्रयोग गरेर कार्यालय परिसरमा प्रवेश गरेका थिए। तर भित्र रहेका सबै कोठामा समेत ताला लगाइएको कारण कुनै पनि प्रशासनिक काम सञ्चालन हुन नसकेको उनीहरुको गुनासो छ।

कार्यालय पुगेका केही नेताहरुका अनुसार कार्यालय सचिव प्रयाग जोशीसमेत सम्पर्कविहीन रहेका छन्। कार्यालय बन्द भएपछि सदस्यता नवीकरण, नयाँ सदस्यता अध्यावधिक तथा संगठनात्मक काम पूर्ण रूपमा प्रभावित बनेको बताइएको छ। कांग्रेसभित्र यतिबेला विशेष महाधिवेशनको विषयलाई लिएर दुई धार स्पष्ट देखिएको छ। धनगढीमा सम्पन्न प्रदेशस्तरीय भेलामा गगन थापा र देउवा पक्षका नेताहरुको उपस्थिति रहेको थियो।

कैलाली कांग्रेसभित्रको पछिल्लो घटनालाई धेरैले आन्तरिक शक्ति संघर्षको रूपमा हेरेका छन्। जिल्ला सभापति नारायणदत्त भट्ट देउवा निकट मानिन्छन्। स्रोतका अनुसार प्रदेश भेलामा सहभागी भएका केही नेताहरुप्रति असन्तुष्टि जनाउँदै उनकै निर्देशनमा कार्यालय बन्द गरिएको आरोप लागिरहेको छ। यद्यपि यस विषयमा जिल्ला सभापति भट्टको औपचारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।