आफ्नै किर्तिमान तोड्दै ल्हाक्पा ११ औँ पटक सगरमाथा चुचुरोमा


काठमाडौं, जेठ ३ । नेपाली पर्वतारोही ल्हाक्पा शेर्पाले ११औँ पटक सफलतापूर्वक सगरमाथा आरोहण गर्दै विश्वमै सबैभन्दा धेरै पटक सगरमाथा चढ्ने महिला आरोहीको कीर्तिमान बनाएकी छन्।

सगरमाथा आधार शिविरमा रहेका छाङदावा शेर्पाका अनुसार, ल्हाक्पा आज बिहान करिब ९ः३० बजे विश्वको सर्वोच्च शिखरमा पुगेकी थिइन्। योसँगै उनले आफ्नै विश्व कीर्तिमानलाई थप बलियो बनाएकी छन्।

‘पर्वतकी रानी’ उपनामले चिनिने ल्हाक्पा हाल अमेरिकामा बस्दै आएकी छन्। गत वर्ष पनि उनी सगरमाथा आरोहणका लागि नेपाल आएकी थिइन्। तर अभियान पूरा गर्न नसकी अमेरिका फर्किएकी थिइन्।

यसअघि ल्हाक्पाले ८ पटक उत्तरी मोहडा (तिब्बततर्फ) र २ पटक दक्षिणी मोहडा (नेपालतर्फ)बाट सगरमाथा आरोहण गरिसकेकी थिइन्। ल्हाक्पा शेर्पा सगरमाथा आरोहणपछि सुरक्षित रूपमा फर्किने पहिलो नेपाली महिला आरोहीका रुपमा पनि परिचित छन्।