गण्डकी, ५ जेठ । वैशाख–जेठ भिरमौरीको मह सिकारका लागि उत्तम याम मानिन्छ । यतिबेला गण्डकी प्रदेशका पहाडी जिल्लामा मह सिकार भइरहेको छ । अक्करे भिरमा जोखिम मोलेर सिकारीहरू भिरमौरीको मह सिकार गर्न व्यस्त छन् । मह काढ्ने पितापुर्खाको सीपलाई उनीहरूले जीवन्त तुल्याएका छन् । पछिल्लो सयम मह सिकार पर्यटनको पनि हस्सा बन्न थालेको छ । साहसिक मह सिकार हेर्न मानिसहरू लालयित हुने गरेका छन् ।
पर्यटक आकर्षित गर्न कतिपय ठाउँमा मह सिकार महोत्सव नै आयोजना गर्ने गरिएको छ । बागलुङको गलकोट नगरपालिका–१० पाण्डवखानीको रमुवामा गत शनिबारदेखि मह सिकार सुरु भएको स्थानीय सरस्वती युवा क्लबका अध्यक्ष यम बुढाले बताए । क्लबको आयोजनामा सोमबार मह सिकार उत्सव गरिएको उनको भनाइ छ । मह सिकार अवलोकनमा ठूलो सङ्ख्यामा मानिसहरू रमुवा पुगेका थिए । गण्डकी प्रदेशसभा सदस्य दोर्णकुमार कुँवरसहित विशिष्ट पाहुना मह सिकार उत्सवमा सहभागी भएको अध्यक्ष बुढाले बताए ।
“आउँदो बिहीबारसम्म रमुवामा मह सिकार हुन्छ, यस याममा एक हजार ५ ०० देखि दुई हजार लिटरसम्म मह सिकार हुने अनुमान गरिएको छ”, अध्यक्ष बुढाले भने, “मह सिकार उत्सवले यसको महत्त्व झनै बढेर गएको छ, मह सिकार हेर्न र महको स्वाद लिन मानिसहरूको भीड लाग्ने गरेको छ ।” क्लबले मह सिकारबाट भएको आम्दानी सामाजिक काममा खर्च गर्दै आएको छ । महको आम्दानी स्थानीयवासीले पनि बाँडफाँट गर्ने गरेका छन् । भिरमौरीको मह प्रतिकिलो रु दुई हजारमा बिक्री हुँदै आएको अध्यक्ष बुढाले बताए । मह सिकार उत्सवमा खेल र सांस्कृतिक गतिविधि पनि जोडिएको थियो ।
रमुवाका भिरमा प्रशस्त भिरमौरी पाइने गलकोट–१० का पूर्ववडाध्यक्ष तिलक घर्तीले बताए । स्थानीयवासीले पुस्तौँदेखि मह सिकार गर्दै आएको उनको भनाइ छ । रैथाने र सीप प्रविधिलाई अपनाउँदै भिमकाय भिरमा मह सिकार गरिने भएकाले मानिसहरू त्यसको अवलोकनका लागि आकर्षित भएको उनले बताए । पछिल्लो समय मह सिकारलाई उत्सवका रुपमा लिन थालिएको छ । मह सिकारलाई साहसिक पर्यटनसँग जोड्न सकेमा ग्रामीण पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने देखिन्छ ।
क्लबले वडा कार्यालयसँगको सहकार्यमा बर्सेनि मह सिकार उत्सव आयोजना गर्दै आएको हो । बागलुङको ताराखोला गाउँपालिका–५ स्थित जुल्फे सामुदायिक वनको मारोभिरमा पनि सोमबारदेखि मह सिकार सुरु भएको छ । सोमबार झन्डै ६० लिटर मह सिकार गरिएको वन उपभोक्ता समितिका सचिव नारायण घर्तीले बताए । सोही वडाको ठूलोभिर सामुदायिक वनमा केही दिनपछि मह सिकार गरिने उनको भनाइ छ । “यसपालि हिउँदमा वर्षा धेरै भएकाले मह कम उत्पादन भएको छ”, सचिव घर्तीले भने, “वर्षा हुँदा मौरी चर्न जान पाउँदैन, आफैँले बनाएको मह खाएर बस्छ ।”
लामो खडेरी पर्दा भिरमौरीको मह बढी उत्पादन हुने गरेको उहाँको भनाइ छ । भिरमौरीको मह सिकार गर्नु आफैँमा जोखिमयुक्त काम भएको उनले बताए । सिकारीहरूले पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम पारेपछि मह सिकारका लागि भिरमा जाने गर्छन् । सिकार गर्नुअघि पितृ र प्रकृतिलाई पुकार्ने चलन छ । सिकारका बेला कुनै अप्रिय घटना नहोस् भनेर कामना गरिन्छ ।
सिकारमा १५ देखि २० जनाको समूह हुन्छ । भिरको टुप्पोमा पुगेपछि सुरु हुन्छ मह सिकार । टोली नेताले सिकारको नेतृत्व सम्हाल्छन् । मुख्य सिकारीलाई ‘भिरौटे’ भनिन्छ । जो पराङमा झुन्डिएर मह काढ्न भिर छिचोल्छन् । ज्यानकै बाजी उठाएर मह काढ्छन् । पहाडी भेगका भिमकाय भिर र पहरामा बर्सेनि गाउँलेहरू यसरी मह सिकारमा रमाउँछन् । पुस्तैनी सीप र परम्परालाई पछ्याउँदै उनीहरूले मह सिकारको चलन धानिरहेका छन् । बाउबाजेले सिकाएको मह सिकारको ज्ञान र सिपलाई पछ्याउँदै आएको सचिव घर्तीले बताए ।
हरेक वर्ष यही याममा ताराखोलामा भिरमौरीको मह सिकार हुँदै आएको छ । ताराखोला–५ को ठूलो भिर र मारो भिरमा धेरै मात्रामा भिरमौरी पाइन्छ । कुनै वर्षमा दुई याममा मह पाइने भएपनि प्रायः वर्षको एकपटक मात्र मह काढ्न मिल्ने स्थानीयवासी बताउँछन् । मह सिकार जोखिमपूर्ण हुने हुँदा जो कसैले सजिलै महको सिकार गर्न सक्दैनन् । दक्ष र अनुभवीहरूमात्र मह सिकारमा जान्छन् । साहससँगै सीप र कौशल भएकालाई मात्र सिकारमा पठाउने गरिन्छ । पराङमा झुन्डिएर मह काढ्नुपर्ने भएकाले मौरीले आक्रमण गर्ने जोखिम पनि उत्तिकै हुन्छ ।
मह सिकारका लागि चाहिने अधिकांश सामग्री लेकाली चोयाँबाट बनाउने गरिन्छ । चोयाँ र काठबाट बनेको पराङ (भर्याङ) मह सिकारका लागि चाहिने मुख्य सामग्री हो । त्यसकै सहायतामा सिकारीहरू भिरमा पुग्छन् । सुथरी (डोरी), चाका झिक्ने साज, मह राख्ने डाली पनि निगालोको चोयाँबाट बनाउने गरिएको सचिव घर्तीले बताए ।
“पराङलाई रुख र रुख नभएको ठाउँमा ठूलो ढुङ्गामा बाँधेर भिरमा खसालिन्छ, त्यसबाटै सिकारी मौरीको घारनजिक पुग्छन्”, उनले भने, “निगालोको टुप्पोमा हँसिया बाँधेर साज बनाइन्छ, त्यसैले काटेर महको चाका घारबाट छुट्याइन्छ र तलपट्टि डालीमा थापिन्छ ।” मौरीको टोकाइबाट बच्न जाबोले मुहार छोप्ने गरिएको उनको भनाइ छ ।
मह निकालेपछि सिकारमा संलग्न र अरू सहभागीलाई बाँड्ने प्रचलन छ । धेरै मात्रामा मह निस्केमा बाहिर बिक्रीसमेत गर्ने गरिएको छ । संस्कृति र परम्पराका रूपमा घरगाउँमा भिरमौरीको मह सिकार हुँदै आए पनि अब यसलाई व्यावसायिक बनाउनुपर्ने खाँचो देखिन्छ । औषधिजन्य गुण र स्वास्थ्यबर्द्धक मानिने हुँदा उपभोक्ताले पनि खोजीखोजी भिरमह प्रयोग गर्छन् । कास्की, म्याग्दी, लमजुङलगायत जिल्लाका पहाडी भेगमा पनि भिरमौरीको मह सिकार गर्ने गरिएको छ । -राम थापा/रासस




प्रतिक्रिया