प्रतिनिधिसभा बैठकः विपद् जोखिम न्यूनीकरणमा विशेष योजना बनाउन सरकारको ध्यानाकर्षण


काठमाडौँ, ६ जेठ । सांसदहरूले सडक दुर्घटना तथा विपद् जोखिम न्यूनीकरण, दूरसञ्चार पूर्वाधारमा सुधार र सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी गतिविधिमा निगरानी गर्ने अन्तरराष्ट्रिय संस्थाको ‘ग्रे लिस्ट’ सम्बन्धी पछिल्लो सुझावका सम्बन्धमा तत्काल विशेष योजना बनाएर कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद बलावती शर्माले महालेखापरीक्षकको कार्यालयको पछिल्लो प्रतिवेदनले औँल्याएको बेरुजु रकम फर्छ्योट गरेर सुशासन अपेक्षा पूरा गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

नेपाली कांग्रेसका सांसद बासना थापाले सुर्खेत–दैलेख सडक खण्ड स्तरोन्नति गर्न सरकारको ध्यानाकर्षण गराइन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् विदुषी राणाले बैङ्क तथा वित्तीय संस्थामा रहेको लगानीयोग्य रकमको उचित परिचालनको वातावरण बनाउन आग्रह गरिन् ।

रास्वपा सांसद बिना गुरुङले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्षेत्रमा प्रवेश गर्न पर्यटकसँग लिइँदै आएको शुल्कबापतको रकम स्थानीय विकासमा लगाउन आग्रह गरिन् ।

रास्वपा सांसद विश्वराज पोखरेलले ओखलढुङ्गाको ग्रामीण भेकमा तत्काल टेलिकम पूर्वाधार विस्तार गरी दूरसञ्चार सेवा सुधार गर्न सरकारको ध्यानाकर्षण गराए । सोही पार्टीका सांसद बुद्धरत्न महर्जनले प्राकृतिक विपत्तिले ललितपुरको विभिन्न क्षेत्रमा पुर्‍याएको क्षतिबापत जनतालाई राहत दिन आग्रह गरे ।

रास्वपा बुद्धिप्रसाद पन्तले वीरगन्जको हरिखेतान सामुदायिक क्याम्पसमा दैनिकजसो हुने गरेको नाराजुलुश र झडप नियन्त्रण गरेर शैक्षिक वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद भरत गिरीले अर्बुद रोगसँग लडिरहेका नागरिकका लागि अत्यावश्यक ‘केमोथेरापी’ उपचारमा सहयोग गर्न सरकारसँग माग गरे । रास्वपा सांसद भरतप्रसाद पराजुलीले अरनिको राजमार्गअन्तर्गत दोलालघाट–तातोपानी खण्डका सडक दायाँवायाँका संरचना हटाउँदा नागरिकको सम्पत्तिको हकको ख्याल गर्न आग्रह गरिन् ।

कांग्रेस सांसद भरतबहादुर खड्काले डोटीमा दूरसञ्चार नेटवर्क अत्यन्त कमजोर रहेको जनाउँदै टेलिफोन सेवामा सुधार ल्याउन सरकारको ध्यानाकर्षण गराए ।

नेकपा सांसद भीमकुमारी बुढामगरले गरिबी निवरण र रोजगारी सिर्जनाका लागि मापदण्ड तोकेर घरेलु मदिराको ‘ब्राण्डिङ’ गर्न तथा भाङ र गाँजाको बहुआयामिक प्रयोगमा जोड दिइन् ।

कांग्रेस सांसद भीष्मराज आङ्दाङ्वेले सङ्क्रमणकाली न्यायसँग जोडिएका सत्य, निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगमा तत्काल पदाधिकारी नियुक्त गरेर शान्ति प्रक्रियालाई यथाशीघ्र निष्कर्षमा पुर्‍याउन आग्रह गरे ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद भूमिका लिम्बु सुब्बाले पाँचथरलगायत देशका विभिन्न जिल्लामा वर्षाको समयमा बाढी पहिराका कारण नागरिकको ज्यान जाने अवस्था रहेकाले अहिले नै जोखिमयुक्त क्षेत्रको पहिचान गरी विपत्ति अगावै बैकल्पिक व्यवस्था गर्न माग गरिन् ।

रास्वपा सांसद भूमिका श्रेष्ठले कार्यविभाजन नियमावली संशोधनमार्फत सरकारले नेपालको इतिहासमै पहिलोपटक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक शब्द समावेश गरी मन्त्रालय गठन गरेकामा सरकारलाई धन्यवाद दिइन् ।

रास्वपा सांसद मञ्जु भुसालले मूल्यवृद्धि नियन्त्रण गरी नागरिकलाई राहत दिन सरकारको ध्यानाकर्षण गराइन् । सोही पार्टीका सांसद मधुकुमार चौलागाईले देशको ‘लाइफलाइन’ का रूपमा रहेको बिपी राजमार्गको तत्काल स्तरोन्नति गर्न माग गरिन् ।

कांग्रेस भरतकुमार स्वाँरले अछामका अधिकांश भूभागमा बादर र बँदेलले किसानलाई हैरानी परेको जनाउँदै जङ्गली जनावर नियन्त्रणमा ध्यान दिन आग्रह गरे ।

कांग्रेस सांसद मनमाया विकले १० वर्ष अघि कक्षा एकमा १० लाख ५६ हजार बालबालिका भर्ना भएका १० कक्षासम्म आइपुग्दा करिब छ लाख विद्यार्थीले बीचैमा पढाइ छाडेका विषयमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराइन् ।

रास्वपा सांसद मनिष खनालले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नागरिकाको शव स्वदेश ल्याउन तथा विदेशमा अलपत्र र ठगीमा परेका युवाको समस्या समाधान गर्न विशेष व्यवस्था गर्न सरकारसँग माग गरे ।

सोही पार्टीका सांसद मनिष झाले जनकपुर क्षेत्रमा रहेका विभिन्न कुटीका नाममा रहेको जग्गाको संरक्षण गर्न सरकारको ध्यानकर्षण गराए ।

नेकपा सांसद मातृकाप्रसाद यादवले करिब ७० वर्षदेखि जनताले सेवा पाइरहेको धनुषाका छोटी भन्सार खारेजको निर्णय सच्याउन आग्रह गरे ।

रास्वपा सांसद माधवबहादुर थापाले पाल्पाका किसानले उत्पादन गर्दै आएका अकबरे खुर्सानी, अलैँची, सुन्तला, कफीलगायत कृषि उत्पादनको बजारीकरणका लागि विभिन्न कृषि सडक निर्माण गर्न सरकारलाई सुझाव दिए ।

कांग्रेस सांसद मोहन आचार्यले रसुवा र नुवाकोट जोड्ने फलाखु पुल तत्काल सञ्चालनमा ल्याउन माग गरे । एमाले सांसद मोहम्मद इश्तियाक राईले बाँकेको राप्ती नदी, डुडुवालगायत खोलामा आउनसक्ने बाढीले स्थानीयमा त्रास बढेको भन्दै तत्काल बाढी नियन्त्रणको योजना बनाउन सुझाव दिए ।

एमाले सांसद यज्ञबहादुर बोगटीले अछाम जिल्ला अस्पतालको भौतिक संरचना जीर्ण भएकाले तत्काल नयाँ भवन निर्माण गरी जनतालाई सर्वसुलभरूपमा स्वास्थ्य सेवा दिन सरकारको ध्यानाकर्षण गराए ।

रास्वपा सांसद यज्ञमणि न्यौपानेले २०४६ सालदेखिका उच्च पदस्थ अधिकारीको सम्पत्ति छानबिन गर्ने सरकारको निर्णय सकारात्मक रहेको बताए । नेकपा सांसद युवराज दुलालले सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट हटाउन सरकारले गरेको प्रयासबारे सदनलाई जानकारी गराउन आग्रह गरे ।

रास्वाप सांसद रचना खतिवडा खत्रीले संसद् भवन अगाडि जेनजी आन्दोलनका शालिक निर्माणको काम तत्काल थाल्न आग्रह गरिन् । सोही पार्टीका सांसद रजनी श्रेष्ठले सगरमाथा आधार शिविर र अन्नपूर्ण आधार शिविरमा मजदुरी गर्ने भरियाको पारिश्रमिक वृद्धि गर्न माग गरिन् ।

रास्वपा सांसद रत्नाकुमारी थापाले अछामेली किसानले भोग्दै आएका समस्या समाधानमा ध्यान दिन आग्रह गरिन् । सोही पार्टीका सांसद रञ्जु न्यौपानेले ट्राफिक नियम उल्लङ्घनका घटना नियन्त्रण गरेर सडक सुरक्षामा ध्यान दिन सरकारको ध्यानकर्षण गराइन् ।

नेकपा सांसद रमेशकुमार मल्लले सल्यान जिल्ला अस्पतालमा सात जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि विशेषज्ञ चिकित्सक नुहुन सरकारको कमजोरी भएको औँल्याउँदै तत्काल आवश्यक जनशक्ति र उपकरणको व्यवस्था गर्न माग गरे ।

रास्वपा सांसद रमेश प्रसाईँले देश र नागरिकको सुरक्षामा कटिबद्ध सुरक्षाकर्मी पारिश्रमिक वृद्धि गरेर उत्प्रेरित गर्न सरकारको ध्यानाकर्षण गराए । सोही पार्टीका सांसद रविन्द्र पटेलले मधेसका जिल्लामा मलको हाहाकार, चापाकल सुकिरहेको तथा खानेपानीको अभाव देखिएको जनाउँदै ती समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।

रास्वपा राजकिशोर महतोले सडक दुर्घटनाबाट बर्सेनि हजारौँ नागरिकले ज्यान गुमाउनुपरेको यथार्थ प्रस्तुत गर्दै दुर्घटना न्यूनीकरणका लागि विशेष योजना ल्याउन माग गरे ।

रास्वपा सांसद राजन गौतमले नवलपुर जिल्लाको पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न सरकारको ध्यानाकर्षण गराए । सोही पार्टीका सांसद राजिव खत्रीले खोला किनारमा जोखिमपूर्णरूपमा बसोबास गर्दै आइरहेका सुकुम्बासीको व्यवस्थापन गर्न विपक्षीले त्यस विषयमा गरेको राजनीति हाँस्यास्पद भएको बताए ।

रास्वपा सांसद डा राम लामाले सुनकोशी–३ जलविद्युत् आयोजना निर्माणको काम तत्काल अघि बढाउन माग गरे । सांसद रामविनोद यादवले धनुषा क्षेत्र नं २ का दुर्गम भूभागलाई एकीकृत विषेश विकास क्षेत्र घोषणा गर्न माग गरेको विषयमा के–कति प्रगति भयो भनी सरकारसँग जवाफ माग गरे ।

रास्वपा सांसद रामाकान्तप्रसाद चौरासियाले २०१५ सालमा स्थापना भएको नारायणी अस्पताललाई मेडिकल कलेजकारूपमा विकास गर्न सरकारको ध्यानाकर्षण गराए ।

एमाले सांसद रिङ्गला यादवले पश्चिम नवलपरासीका उखु किसानले पाउनुपर्ने ५४ करोड भन्दाबढी रकम उद्योगीले भुक्तानी गर्न आलटाल गरिरहेको विषयमा सरकारको ध्यानाकर्षण गराए ।

कांग्रेस सांसद रिना उप्रेतीले स्वतन्त्र प्रेसमाथि नियन्त्रण गर्ने सरकारको प्रयास निन्दनीय रहेको बताइन् । सांसद रिमा विश्वकर्माले जातीय हिंसा न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद रुकेश रञ्जितले भक्तपुरको चागुनारायण र भक्तपुर नगरमा देखिएको पिउने पानीको अभावको समस्या हल गर्न सरकारसँग माग गरे । सांसद रुक्मिणीदेवी कोइरालाले गत भदौ २४ गतेको घटनाका सम्बन्धमा निश्पक्ष छानबिन गर्न तत्काल अधिकारसम्पन्न आयोग गठन गर्न माग गरिन् ।

रास्वपा सांसद रुबिना आचार्यले सामाजिक सञ्जालमा महिलामाथि हिंसा गर्ने प्रवृत्ति रोक्न सरकारको ध्यानाकर्षण गराइन् । कांग्रेस सांसद रेनुका काउचाले बालविकास शिक्षकलाई श्रम ऐनअनुसार न्यूनतम् पारिश्रमिक दिलाउन सरकारसँग माग गरिन् । रासस