काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा सरकारले राजनीति गर्न खोजेको आरोप लगाएका छन् ।
बुधवार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले न्यायालयको ८० वर्षको इतिहासमा पहिलोपटक वरियता क्रम मिचेर चौथो वरियतामा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीश बनाएर न्यायालयमा राजनीति छिराएको आरोप लगाएका हुन् ।
उनले संसदीय सुनुवाइ समितिमा समेत प्रक्रिया पूरा गर्नुपर्ने आफ्नो पक्षको माग बेवास्ता गर्दै सत्तापक्षले नियुक्ति प्रक्रियामा अत्यधिक हतार गरेको बताए ।
‘हामीले न्यायालयमा राजनीति गरेका छैनौँ । अहिले सरकारपक्षलाई वरियता मिचेर चौथो वरियतामा रहनुभएका न्यायाधीशलाई प्रधानन्यायाधीश बनाएको आरोप लागिरहेको छ । उहाँहरूले राजनीति गर्नुभयो, ८० वर्ष न्याय इतिहासमा वरियता मिच्नुभयो भन्ने आरोप छ । यसमा मैले थप टिप्पणी गर्न आवश्यक छैन । संसदीय सुनुवाइ समितिमा पनि अत्यन्त हतारो गर्नुभयो । प्रक्रिया पुरा गर्ने हाम्रो माग थियो । तर सत्तापक्षले निकै हतार गर्नुभयो । हामीले शंकाको लाभ दियौँ,’उनले भने ।
उनले दुई तिहाइ नजिकको जनमतबाट आएको सरकारलाई शंकाको लाभको आधारमा आफूहरूले समेत प्रधानन्यायाधीश नियुक्तिमा समर्थन जनाएको बताए ।




प्रतिक्रिया