काठमाडौं, जेठ ६ । पोखरा महानगरपालिकाले पोखरा बसपार्कको अतिक्रमित जग्गा खाली गराउन तीन दिनको समय दिएको छ ।
महानगरपालिकाले आज सार्वजनिक सूचना जारी गर्दै यसअघि निस्सा पाएका भूमिहिन, दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीहरूलाई जेठ ८ गतेसम्म वडा नम्बर ९ को कार्यालयमा विवरण बुझाउन निर्देशन दिएको हो ।
पोखराको पृथ्वीचोका सुविधा सम्पन्न बसपार्क बनाउन २०३२ सालमा २०५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । तर ५० वर्षसम्म सो स्थानमा बसपार्क नबन्दा बसपार्क बनाउने जमिन अतिक्रमण भएर २६ रोपनीमा सीमित भएको छ । सो स्थानमा साढे चार सय बढी घरटहरा बनेका छन् ।
पोखरा महानगरपालिकाले गत वैशाख ४ गते अतिक्रमण हटाउन ३५ दिने सूचना जारी गरेकोमा उक्त अवधि यही जेठ ८ गते सकिँदैछ । ३५ दिने अल्टिमेटम सकिनु तीन दिन अघि महानगरपालिकाले आज फेरि सूचना जारी गर्दै वास्तविक सुकुमवासीहरुलाई वडा कार्यालयमा विवरण बुझाउन भनेको हो ।
आफूलाई सुकुम्वासी दाबी गरी बसपार्कको जग्गामा घर टहरा बनाएर बस्दै आएकाहरुले वास्तविक सुकुम्वासी प्रमाणित हुने कागजपत्र बुझाउनु पर्ने छ ।




प्रतिक्रिया