नियम भन्दा नियत ठुलो र त्यो नियत जनता र लोकतन्त्रको पक्षमा हुनुपर्छ : हर्क साम्पाङ


काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार र प्रधानमन्त्री संसद्प्रति जवाफदेही नभएको भन्दै असन्तृष्टि जनाएका छन् ।

आज बिहान एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा सदस्यसमेत रहेका साम्पाङले वर्तमान सरकारले संसदीय मर्यादाको उल्लंघन गरेको र जनताको मतद्वारा निर्मित संसद्लाई बेवास्ता गरेको आरोप लगाए ।

‘प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री र अन्य मन्त्रीहरू संसद्मा उपस्थित नहुनु र उठेका प्रश्नहरूको जवाफ नदिनुले विधि सम्मत संसद् चलिरहेको छैन भन्ने पुष्टि हुन्छ । यो प्रतिनिधि सभा सञ्चालन नियमावली १५(२) को बर्खिलाप हो,’ विज्ञप्तिमा लेखिएको छ ।

साम्पाङले धेरै प्रयासपछि संसद्मा उपस्थित भएका दुई जना मन्त्रीहरूले पनि अत्यन्तै सतही जवाफ दिएको र आफू लगायत श्रम संस्कृति पार्टीका सांसदहरूले थप प्रश्न सोध्न खोज्दा सभामुखले रोकेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

सभामुखको भूमिकाप्रति पनि प्रश्न उठाउँदै राईले भने ‘प्रधानमन्त्रीलाई सदनमा ल्याउन नसक्ने सभामुखले प्रतिपक्ष दलका नेतालाई बारम्बार नियम घोकाइरहनु निन्दनीय र हास्यास्पद देखिन्छ । नियम भन्दा नियत ठुलो हुन्छ र त्यो नियत जनता र लोकतन्त्रको पक्षमा हुनुपर्दछ ।’