काठमाडौँ, ७ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद ललिता कुमारीले पूर्व-पश्चिम राजमार्गअन्तर्गत मिर्चैया खण्डमा नाला निर्माण गरिएका स्थानमा लामखुट्टे बढेका र सोही कारणले स्थानीयको स्वास्थ्यमा जोखिम हुनसक्ने भएकाले ढकनविहीन नाला नछोड्न सरकारको ध्यानाकर्षण गराइन् । नालाको निर्माण यथाशीघ्र सम्पन्न गराई आवागमन र दैनिक सहज बनाउन पनि उनले माग गरिन् ।
सांसद लक्ष्मीप्रसाद पोखरेलले दैलेख जिल्लामा निर्माण भइरहेको ट्रमा सेन्टरको काम छिटो सक्न माग गरे । दुल्लु अस्पताललाई सरकारी अस्पताल बनाउन जनताले माग गरिरहेकाले उक्त माग सुनुवाइ भई कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिए ।
सांसद लालविक्रम थापाले सुनसरीस्थित बुढीखोलाको कटान नियन्त्रणका लागि बजेट विनियोजन गर्न माग गरे । पत्रकार महासङ्घ सुनसरी शाखाको भवन निर्माणका लागि बजेट विनियोजन गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए ।
सांसद लिमा अधिकारी आचार्यले कृषिप्रधान देशमा किसानको आँसुले माटो भिजेको बताउँदै पश्पालक किसानको दूधको भुक्तानी छिटो गरिनुपर्नेमा जोड दिइन् । सांसद लेखजङ्ग थापाले ‘उद्योग बनोस् देश अघि बढोस्’ भन्ने भावनाले काम गर्न सरोकार भएका सबैलाई आग्रह गरे । बाँच्ने अधिकार खोसेर विकास नचाहिएको उनको भनाइ छ ।
सांसद विक्रम खनालले पश्चिम नवलपरासीका साना भन्सार बन्द हुँदा समस्या भएको बताउँदै छिटो यथाशीघ्र सञ्चालनमा ल्याउन माग गरे । उखु किसानका समस्या कहिल्यै समाधान नभएकाले तत्काल समाधान गर्न उनले सरोकार भएका निकायको ध्यानाकर्षण गराए ।
सांसद विक्रम थापाले कपिवस्तु जिल्ला कृषिमा निर्भर भएकाले सिँचाइको प्रभावकारी व्यवस्था गर्नुपर्ने माग गरे । सांसद विपीनकुमार आचार्यले श्रमिकको एउटै पीडा पारिश्रमिक नपाउँदा हुने भएकाले महिनाको अन्तिममा अनिवार्य भुक्तानीको व्यवस्था मिलाउन माग गरे ।
सांसद विष्णुबहादुर खड्काले कृषकलाई सरकारी अनुदान तथा कृषि औजार उपलब्ध गराउन माग गरे । सांसद विष्णुमाया विकले तेह्रथुमका अधिकांश क्षेत्र सुक्खाग्रस्त भएकाले समस्या समाधान गर्नुपर्नेमा जोड दिए । सोही कारणले बसाइ सर्ने क्रमलाई रोक्न नसकिने बताउँदै उनले तमोर लिफ्टिङ आयोजना शीघ्र सम्पन्न गराई समस्या समाधान गरिनुपर्ने बताए ।
सांसद शम्भुप्रसाद ढकालले म्यानपावरले ‘फ्रि टिकट फ्रि’ भिसा भनिए पनि समस्या समाधान नभएका सरकारले यसमा ध्यान दिनुपर्ने बताए । सांसद शाहजान खातुनले रौतहटको अस्पतालमा उपचार नपाएर मानिस टाढाटाढा जानुपर्ने अवस्था आइरहेकाले तत्काल चिकित्सकको व्यवस्था गर्न माग गरे ।
सांसद शिवशङ्कर यादवले कृषक पेसाप्रति निराश भएका भन्दै समयमै मल, बीउ र सिँचाइको व्यवस्था गरिनुपर्नेमा जोड दिए । सांसद श्रद्धा कुँवर क्षत्रीले सिद्धबाबा क्षेत्रको सडक जोखिमपूर्ण भएकाले समस्या समाधान गर्न माग गरे । “इबोला भाइरस नेपालमा पनि बढ्न सक्ने भएकाले तयारी के छ ?”, उनले प्रश्न गरे ।
सांसद श्रीधर पोखरेलले सिमानाको रक्षामा बसेकाको हातमा लालपूर्जा नभएको भन्दै विशेष कार्यक्रम लागू गर्न माग गरे । सांसद श्रीराम न्यौपानेले विदेशमा निधन भएकाको शव ल्याउन समस्या भएकाले सहजीकरण गर्न श्रम मन्त्रालयको ध्यानाकर्षण गराए । उनले हावाहुरीले बाली नष्ट भएको, जीर्ण पोल र तारले मानिस जोखिममा परेकाले समस्या समाधान गर्न माग गरे ।
सांसद सन्तोष राजवंशीले मोरङ निर्वाचन क्षेत्र नं ४ मा रहेको हुलाकी राजमार्ग यथाशीघ्र निर्माण गर्न माग गरे । उक्त क्षेत्रको हुलाकी राजमार्गमा दैनिक पाँच-छ वटा दुर्घटना हुने गरेकाले तत्काल गुणस्तरीय निर्माण गरी समस्या समाधान गर्नुपर्ने धारणा राखे ।
सांसद सन्तोष सुब्बाले मुलुकमा बसाइँसराइ ठूलो समस्या बनेको बताउँदै बसाइँसराइ रोक्न आधारभूत विषय शिक्षा क्षेत्रमा प्रभावकारी कदम चालिनुपर्ने बताए । म्याङलुङ क्याम्पसमा ७०० विद्यार्थी भए पनि विश्वविद्यालयको आङ्गिक क्याम्पस हुन नसकेको उनले बताए । रासस




प्रतिक्रिया