काठमाडौँ, ७ जेठ । प्रतिनिधिसभाका सांसदहरुले असार आउन लागिसके पनि कृषि क्षेत्रका समस्या समाधान नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद सन्दीप रानाले किसानले धानको ब्याड राख्ने बेला भइसक्दा पनि सिञ्चाइ योजना अलपत्र भएको बताए । सुरु गरिएका सिञ्चाइ योजना शीघ्र सम्पन्न गरिनुपर्नेमा उनले जोड दिए । कृषिलाई निर्वाहमुखी मात्र नभई निर्यातमुखी बनाउने गरी बजेट व्यवस्था गर्न सांसद रानाले माग गरे ।
सांसद समिना मियाँले विद्युतीय चुरोट भेपको टक्सिनले मानसिक स्वास्थ्यमा असर गर्ने भएकाले यसको अवैध आयातमा रोक लगाउन माग गरिन् । सांसद समीक्षा बास्कोटाले भारतमा चिया निर्यात गर्नका लागि सरकारले पहल गर्नुपर्नेमा जोड दिइन् । उनले चिया निर्यातको दीर्घकालीन समस्या समाधानका लागि पहल गर्न माग गरिन् ।
सांसद सरस्वती लामाले धादिङबाट रसुवा जाने सडकका साथै धादिङका विभिन्न स्थानका सडकको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन् । सांसद सरिता महतोले अटिजम, डाउन सिन्ड्रोमलगायत समस्या भएका बालबालिकाको समस्यातर्फ गम्भीर बन्न सरकारसँग माग गरिन् ।
सांसद सागर भुसालले कालीगण्डकी जलाशय योजना छिटो सुरु गर्न माग गरे । सुन्तला उत्पादनमा अग्रणी पर्वतलाई पकेट क्षेत्र घोषणा गर्न माग गर्दै उनले पर्वतका धार्मिक, सांस्कृतिक स्थलमा पर्यटन प्रवर्द्धन गर्न पूर्वाधार विकास गरिनुपर्ने बताए ।
सांसद साजिदा खातुत सिद्धिकीले दाङको टरिगाउँ क्षेत्रको सडकको समस्या समाधान गर्न माग गरिन् । सांसद सीताराम साहले डिजिटल नेपालको नीतिमा अघि बढिरहँदा टेलिफोन सेवा भरपर्दो बनाउन माग गरे । सांसद सिर्जना श्रेष्ठले सुनसरीका अव्यवस्थित बसोबासीका समस्या समाधान गर्नुपर्नेमा जोड दिइन् ।
सांसद सीता थपलियाले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुर्खेतमा बनाइएको रङ्गशाला अहिले गौचरणमा परिणत भएकाले संरक्षण गर्नुपर्ने बताइन् । राष्ट्रिय खेलकुद प्रतियोगिता रोकिएको चार वर्ष भएकाले तत्काल गर्नुपर्नेमा उनले सरोकारवाला निकायको ध्यानाकर्षण गराइन् ।
सांसद सुजाता तामाङले सरकारले विभिन्न घातक विषादीमाथि प्रतिबन्ध लगाए पनि विभिन्न बाटोबाट विषादी बिक्रीवतरण भइरहेकोतर्फ सरकारको ध्यानाकर्षण गराइन् । सांसद सुनिल केसीले जेनजी आन्दोलनका कारण प्रहरीको एक हजार ६२ सवारीसाधन क्षति भएकाले बिमा गरिएकाको भुक्तानी छिटो दिने व्यवस्था मिलाउन माग गरे ।
सांसद सुम्निमा उदासले ग्रे लिस्टमा परेको नेपाललाई छिटो गरी यसबाट मुक्त गराउन माग गरिन् । सांसद सुरेशकुमार चौधरीले बाँकेमा अन्तरराष्ट्रिय महिला क्रिकेट मैदान अधुरो भएकाले छिटो निर्माण सम्पन्न गर्न माग गरे । बाँकेका अधुरा खानेपानी आयोजना पूरा गरिनुपर्नेमा उनले जोड दिए । रासस




प्रतिक्रिया