सरकारले गर्यो प्रतिलिपि अधिकार तथा बौद्धिक सम्पत्तिसम्बन्धी अध्ययन गर्न जाँचबुझ समिति गठन


काठमाडौँ । सरकारले सङ्गीत रोयल्टी, प्रतिलिपि अधिकार तथा बौद्धिक सम्पत्तिसम्बन्धी विवाद, गुनासा र प्रणालीगत समस्याको अध्ययन गर्न जाँचबुझ समिति गठन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ध्यानाकर्षणपछि लक्ष्मण बिडारी, ‘शेष’को अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरेको हो ।

बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत उक्त समिति गठन गरेको मन्त्री खड्गराज पौडेलको सचिवालयले जानकारी दिए ।

समितिमा सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागका प्रमुख, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालयका रजिष्ट्रार सविता कार्की र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका पुरातत्व तथा सम्पदा शाखाका प्रमुख सुभद्रा भट्टराई सदस्य छन् । समितिको सदस्यसचिवका रूपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृति शाखाका उपसचिव निर्मला न्यौपाने रहेकी छन् ।

मन्त्रालयले समितिलाई गठन भएको मितिले १० दिनभित्र आवश्यक सिफारिससहित प्रतिवेदन पेस गर्न कार्यादेश दिएको छ ।