‘प्रेसलाई निषेध गरेर संसदीय समिति चल्दैन’ भन्दै रास्वपाकै सांसदले गरे बैठक बहिष्कार


काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकबाट पत्रकारहरूलाई बाहिर निकालिएपछि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सहित प्रतिपक्षी दलका सांसदहरूले बैठक बहिष्कार गरेका छन् ।

कीर्तिपुर र बनेपामा रहेका सुकुम्बासीहरूका लागि निर्माण गरिएका होल्डिङ सेन्टरको अनुगमनपछि उठेका विषयमा छलफल गर्न शुक्रबार समितिको बैठक बोलाइएको थियो । विस्थापित सुकुम्बासीहरूको बसोबास केन्द्रमा गरिएको अनुगमनका सवालमा पूर्वाधार विकास मन्त्रालयसँग छलफल गर्ने कार्यसूची तय भए पनि बैठक सुरु हुनासाथ पत्रकारहरूलाई प्रवेश निषेध गरिएपछि विवाद उत्पन्न भएको हो ।

प्रेसलाई बाहिर राख्ने समितिको निर्णयप्रति आपत्ति जनाउँदै सत्तारूढ रास्वपाका सांसद अमरेश सिंह बैठकबाट बाहिरिए । त्यसैगरी, नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राई र नेकपा एमालेका सांसद मोहम्मद इश्तियाक राईले पनि बैठक बहिष्कार गरेका छन् ।

बैठक बहिष्कार गर्दै बाहिरिएका सांसदहरूले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाएर संसदीय समिति सञ्चालन गर्न नसकिने स्पष्ट पारेका छन् ।