कान्स फिल्म फेस्टिभल नेपालका लागिकस्तो भयो ?


काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले फ्रान्सको कान्समा भएको यस वर्षको फिल्म फेस्टिभल नेपालका लागि ऐतिहासिक बन्न पुगेको बताएकी छिन् ।

फेस्टिभलमा भाग लिएर शनिबार स्वदेश फर्किएपछि त्रिभुबन विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै डंगोलले फेस्टिभलको इतिहासमा नेपाली चलचित्रलाई प्राप्त भएको यो पहिलो अवसर महत्वपूर्ण र ऐतिहासिक बन्न पुगेको बताएकी हुन् ।

फेस्टिभलमा अविनाश विक्रम शाहले निर्देशन गरेको नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग’ले अनसर्टेन रिगार्ड विधामा ‘जुरी प्राइज’ प्राप्त गर्नुले नेपाली चलचित्र तथा रचनात्मक उद्योग र कला क्षेत्रको उचाइ बढेको उनले बताइन् ।

‘फिल्म प्रदर्शनपछि हलमा उपस्थित दर्शकहरूले करिव ७–८ मिनेटसम्म उभिएर सम्मान दिएका थिए । यो क्षण सम्पूर्ण नेपालीका लागि भावुक र गर्विलो थियो । अन्तर्राष्ट्रिय मञ्चमा नेपालीले मन मात्र नभई उपाधि पनि जित्नु ठूलो उपलब्धि हो,’ उनले भनिन् ।