केन्टन कूलले २०औं पटक सगरमाथा आरोहण गरेर आफ्नै कीर्तिमान तोडे


काठमाडौं, जेठ १० । चर्चित बेलायती पर्वतारोही केन्टन कुलले विश्वको सर्वोच्च शिखर गरमाथा २०औँ पटक सफल आरोहण गर्दै विदेशी आरोहीतर्फको आफ्नै कीर्तिमानलाई अझ मजबुत बनाएका छन्। हिमालयन गाइड्सका प्रबन्ध निर्देशक इश्वरी पौडेलका अनुसार दक्षिण–पश्चिम इङल्यान्डको ग्लोस्टरशायर निवासी ५३ वर्षीय कूलले शुक्रबार बिहान सफलतापूर्वक सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन् ।

उनीसँगै अनुभवी शेर्पा आरोही दोर्जी ग्याल्जेन ले पनि २४औँ पटक सगरमाथा आरोहण गरेका छन्। यससँगै दोर्जी ग्याल्जेनले पनि नेपाली पर्वतारोहण इतिहासमा अर्को महत्वपूर्ण उपलब्धि थपेका छन् । कूलले सन् २००४ मा पहिलो पटक सगरमाथा आरोहण गरेका थिए । त्यसयता उनी हिमाल आरोहण क्षेत्रमा सबैभन्दा सफल विदेशी पर्वतारोहीमध्ये एक मानिन्छन् ।

यसअघि सन् २०१३ मा उनले माउन्ट नुप्से,सगरमाथा र माउन्ट लोप्से एकै सिजनमा आरोहण गर्ने पहिलो बेलायती आरोही बनेर इतिहास रचेका थिए । त्यस्तै, सन् २०२१ मा उनले सगरमाथा आरोहण गरेको २९ घण्टाभित्रै ल्होत्से पनि आरोहण गरेका थिए । यस वर्षको वसन्तकालीन आरोहण सिजनमा अनुकूल मौसमका कारण सगरमाथा आरोहण गर्ने पर्वतारोहीहरूको संख्या उल्लेख्य रहेको छ ।