बाजुरा–हुम्ला सीमा विवादमा थप सुरक्षाकर्मी परिचालन


काठमाडौं । बाजुराको हिमाली गाउँपालिका–३ को लाम्पाटामा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । सीमा विवादको विषयलाई लिएर कुटपिटको घटना भएपछि सो क्षेत्रमा जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी निरीक्षक लक्ष्मीराज जोशीको नेतृत्वमा १० जनाको प्रहरी लाम्पाटातर्फ पठाइएको हो ।

हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थलीका स्थानीयको समूहले हिमाली–३ का वडा सदस्य पेमा गारा गुरुङसहितका पाँच जनामाथि कुटपिट गरेको थियो । ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियान लिएर पुगेको धनगढीका मेयर गोपाल हमाल नेतृत्वको टोलीलाई समेत उनीहरुले लखेटेका थिए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नरेशबहादुर शाहीले लाम्पाटाको वस्तुगत स्थितीबारे बुझ्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली त्यसतर्फ गएको जानकारी दिए ।