काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द विरुद्ध पदको दुरुपयोगसहित विभिन्न गम्भीर आरोप लागेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एक पत्र लेख्दै क्यानलाई ती आरोपबारे पाँच दिनभित्र स्पष्टीकरणसहित राय, प्रतिक्रिया र प्रमाणित कागजात पेश गर्न निर्देशन दिएको छ।
राखेपले उजुरीमा उठाइएका विषयको गम्भीर अध्ययन गरी बुँदागत रूपमा सत्यतथ्य विवरण, प्रतिक्रिया तथा सम्बन्धित प्रमाणित कागजात उपलब्ध गराउन भनेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग मा २०८३ वैशाख १६ गते अध्यक्ष चन्दविरुद्ध उजुरी दर्ता भएको थियो। त्यसपछि आयोगले वैशाख २९ गते युवा तथा खेलकुद मन्त्रालय लाई पत्र पठाएको थियो। मन्त्रालयले वैशाख ३१ गते राखेपलाई पत्राचार गर्दै १० दिनभित्र आवश्यक जवाफ पठाउन निर्देशन दिएको थियो।
मन्त्रालयमार्फत पठाइएको पत्रमा क्यान अध्यक्ष र कोषाध्यक्षलगायत पदाधिकारीमाथि सार्वजनिक कोष अपचलन गरेको, अमेरिकामा भएको विश्वकप भ्रमणमा अनियमितता गरेको, कर्मचारी भर्ना प्रक्रियामा दुरुपयोग गरेको, अपाङ्गता भत्ताको दुरुपयोग गरेको तथा वार्षिक साधारण सभा, विश्वकप जर्सी र टिकट वितरणमा अनियमितता गरेको आरोप लगाइएको छ।
उक्त उजुरीका आधारमा राखेपले गत बिहीबार क्यानलाई औपचारिक पत्र पठाउँदै सबै विषयमा स्पष्ट धारणा र प्रमाणसहितको विवरण बुझाउन निर्देशन दिएको हो।



प्रतिक्रिया