‘दुई तिहाइको सरकार नबरालियोस्’ – कृष्ण पहाडी


काठमाडौँ । मानवअधिकारवादी नेता एवं मानवअधिकार तथा शान्ति समाजका संस्थापक कृष्ण पहाडीले वर्तमान सरकार लोकतन्त्र र संसदीय सर्वोच्चताको जगमा उभिएर अघि बढ्नुपर्ने बताएका छन् । स्वतन्त्र नागरिक अभियान नेपालले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै पहाडीले सरकारको सफलताको कामना गर्दै तर सरकार लोकतन्त्रविरोधी बाटोमा जान नहुने चेतावनी दिए ।

‘हामी सरकारको विरुद्धमा उभिएका होइनौँ, तर सरकारलाई बाटो देखाउनु हाम्रो कर्तव्य हो,’ पहाडीले भने, ‘मुलुकमा वि.सं. २००७, २०१७, २०४६, २०६२–६३ हुँदै अहिले जेनजी पुस्ताको आगमन भइसकेको छ । फेरि पनि व्यवस्था परिवर्तनकै लडाइँ लडिरहने हो भने देशले कहिल्यै उन्नति गर्न सक्दैन ।’
झण्डै दुई तिहाईको अत्यधिक समर्थन पाएको वर्तमान सरकार अन्ततः अत्यधिक समर्थनको भारीले नै किचिएर कतै ढल्ने त होइन भन्दै उनले चिन्ता व्यक्त गरे ।

नेता पहाडीले वर्तमान दुई तिहाइको सरकार टिकोस् र यसले स्थिरता दियोस् भन्ने नागरिकको चाहना रहेको उल्लेख गरे । विगतमा गिरिजाप्रसाद कोइराला, केपी शर्मा ओली र शेरबहादुर देउवाले बहुमतको संसद् विघटन गरेर अस्थिरता निम्त्याएको स्मरण गराउँदै उनले भने, ‘सरकारको हातबाट पुनः संसद् विघटन हुने आत्मघाती अभ्यास नदोहोरियोस् ।’

प्रधानमन्त्रीले संसद्मा उभिएर बोल्नु लोकतन्त्रको मर्यादा भएको चर्चा गर्दै उनले संसदीय सर्वोच्चतालाई नजरअन्दाज गरेर हिँड्न नहुने बताए । राष्ट्रपतिले संसद्मा नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाहले देखाएको व्यवहारले राष्ट्रपतिको नभई स्वयं सरकारकै अपमान भएको उनको तर्क थियो ।

साथै, उनले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाको असफलताकै कारण जेनजी आन्दोलन जन्मिएको उल्लेख गर्दै न्यायालयलाई राजनीतिक दल र सरकारको छायाबाट मुक्त राख्न आग्रह गरे ।

यस्तै, नेता पहाडीले सुकुम्बासी समस्यालाई मानवीय र कानुनी हिसाबले सल्टाउनुपर्ने बताए । ‘सुकुम्बासीलाई बन्दुकको बलमा निकालिएको टिकाउ हुँदैन । पहिले पुनस्र्थापना गरेर मात्र विस्थापन गरिनुपर्थ्यो,’ उनले भने, ‘सरकार सुकुम्बासी विस्थापनमा मात्रै केन्द्रित भयो, यस्तो कदम अन्ततः सरकारमा सहभागी दल रास्वपाका लागि समेत घातक हुनसक्छ ।’

यसैबीच, पहाडीले स्वतन्त्र नागरिक अभियानका संयोजक वरिष्ठ पत्रकार ऋषि धमलालाई अहिंसा र स्वतन्त्रताको पक्षमा दह्रोसँग उभिन आग्रह गर्दै भने, ‘भविष्य जेनजीहरुकै हो । ऋषिजी ! तपाईं अहिंसा र स्वतन्त्रताको पक्षमा दृढतापूर्वक अघि बढ्नुस्, इतिहास बनाउनुस्, मेरो शुभकामना छ ।